शिवालयमा यातायात व्यवसायीले गरे सडक मर्मत

सल्यान परिवेश संवाददाता , ५४७५  पटक हेरिएको

सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा यातायात व्यवसायीले छेडाकचाली सडक मर्मत सुरु गरेका छन् । दसैंतिहारलाई लक्षित गर्दै यातायात व्यवसायीले वर्षाले अवरुद्ध भएको छेडाकचाली सडकखण्ड अन्तरगत गाउँपालिकाको ऐरेलीदेखि टुनीबगरसम्म ग्रामीण सडक मर्मत गर्न सुरु गरेका हुन् ।

चाडपर्वका समयमा नागरिकहरू ओहोर–दोहोर गर्न सहजताका लागि सडकमा खसेको पहिरो डोजरमार्फत पन्छाउन थालिएको यातायात व्यवसायी प्रकाश घर्तीले जानकारी दिए । उनले सडक अवरुद्ध भएको लामो समयसम्म पनि मर्मतका लागि कसैको साथ र सहयोग प्राप्त नभएपछि आफ्नो पहलमा १०/१२ जना मिलेर सडक मर्मत गर्न थालेको जानकारी दिए ।

गाउँघरमा दसैंतिहारको समयमा मान्छेको आवतजावत निकै हुनेभएकोले बिहीवारबाट यातायात व्यवसायीको लगानीमा डोजरमार्फत सडकका ठाउँ–ठाउँमा खसेको पहिरो पन्छाउन थालिएको उनले बताए । ‘हामीले पालिकालाई बारम्बार भन्यौँ तर, पनि पालिकाले केही चासो देखाएन’ उनले भने, ‘आज मेरो र यातायात व्यवसायी हेमराज महताराको पहलमा १०/१२ जना मिलेर आफ्नै लगानीमा डोजर पठाएर सडक मर्मत गर्न सुरु गर्‍यौं ।’

सडकमा खाल्डाखुल्डी परेर सवारीसाधन चलाउन तथा पैदलै हिँड्न समेत समस्या भएको र पालिका सरकारले कुनै पनि चासो नदेखाएपछि आफूहरू बाध्य भएर सडक मर्मत गर्न जुटेको उनको भनाइ छ । उक्त ठाउँमा सडक मर्मत भएपछि सुर्खेत नेपालगन्ज लगायतका ठाउँमा आवतजावतमा निकै सहज भएको छ ।

(साभार खबर दृष्टि ) https://khabardrishti.com/?p=8647&fbclid=IwAR0cOGTjAVLVX6I0J3puzk0LdRXQRXE0ta4s9x57q-mAUz_leE3VFmoOPSw

प्रकाशित मिति: २०२३-०९-२८ , समय : २३:४०:३२ , २ महिना अगाडि