सल्यानमा सासुको हत्याको आरोपमा बुहारी पक्राउ

सल्यान परिवेश संवाददाता , २८९४  पटक हेरिएको

असोज २१, सल्यान । गत असोज १८ गते बिहान आफ्नै घरभित्रै रहेको भकारीमा मृत अवस्थामा फेला परेकी सल्यान सिद्धकुमाख गाउँपालिका ४ खार्पनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि बुहारी सर्मिला बुढाथोकीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।

पक्राउ परेकी सर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको जनाएको छ । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभइ घाँटीमा निलडाम देखिएको प्रहरीको भनाइ छ ।

सर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन । पक्राउ परेपछि सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेको प्रहरीको भनाई छ । उनले आफूले मारेर कसैले थाहा नपाओस भनेर नैे भकारीमा लुकाएको समेत स्विकार गरेको प्रहरीले जनाएको छ ।

१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान शव फेला परेको थियो । १५ गते नै सर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-०८ , समय : १८:३३:४८ , २ महिना अगाडि