सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी, बालीनालीमा क्षति

सल्यान परिवेश डट कम , ३४५९  पटक हेरिएको

२९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।

दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा हावाहुरीसहित असिना पानी परेको थियो ।

बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ । कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको फोटो सामाजिक सन्जालमा देखिन्छ ।

दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ ।

पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागलाको घाँस काटेर सुकाउने गरिन्छ ।

पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज र भोलि दुई दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-१६ , समय : १०:२०:४२ , २ महिना अगाडि