सल्यानपरिवेश संवाददाता , २६६२ पटक हेरिएको

जाजरकोट कार्तिक १८ – जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।
शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको परकम्प हो । सो भूकम्पछि हालसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको केन्द्रका भूकम्पविद् चिन्तन तिमिल्सिनाले सल्यानपरिवेशलाई जानकारी दिए ।
प्रकाशित मिति: २०२३-११-०४ , समय : १८:५०:०९ , ४ हप्ता अगाडि