Salyan Paribesh , ११४३ पटक हेरिएको

सल्यानमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानले बुधवार गरेको छड्के निरीक्षणमा सल्यान सदरमुकाम खलंगामा रहेका विभिन्न १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा १०९ कर्मचारी अनुपस्थित भएको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयमा १२, कृषि विकास कार्यालयमा १३, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, प्रदेश लेखा इकाईमा २ कर्मचारी अनुपस्थित रहेका छन् ।
यस्तै जिल्ला आयुर्वेद कार्यालयमा ९, जिल्ला हुलाक कार्यालयमा ३, कारागारमा २, मालपोत कार्यालयमा २, शिक्षा विकास तथा समन्वय इकाईमा २ र नापी कार्यालयमा ३ जना गरि एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी थमन खड्काले जानकारी दिए ।
बिदा वा काज स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई अनुपस्थित रहनुको कारण खुलाई एक साता भित्र लिखित जवाफ पेस गर्न पत्राचार गरिएको उनको भनाई छ ।
सरकारी कार्यालयको सेवा चुस्तद्रुस्त नभएको जनगुनासो आउन थालेपछि छड्क निरीक्षण गरिएको कार्यालयले जनाएको छ ।
साभार – लेकाली अनलाइन
प्रकाशित मिति: २०२२-०२-२३ , समय : १९:१७:०० , २ वर्ष अगाडि