प्रकाश सपुतले ‘बेजोड प्रश्न’को सङ्ज्ञा दिएको पिर, गीत यतिखेर बहसको विषय बनेको छ

Salyan Paribesh , १०७६  पटक हेरिएको

शुक्रवार सार्वजनिक  ‘पीर’  बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ। भिडियोको एउटा दृश्यमा पूर्वलडाकु महिला अभावकै कारण देहव्यापारमा संलग्न भएको चित्रण गरिएको छ। त्यही दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन्।

रोचक कुरा त के छ भने भिडियोमा ‘देहव्यापार गर्न लागेकी महिला’ को भूमिका निर्वाह गरेकी कलाकार केशु पुन मगर (केशरी) स्वयं पनि सशस्त्र युद्ध हुँदा माओवादी पार्टीमा थिइन्। उनका अनुसार “उनी जानेर वा नजानेर माओवादी आन्दोलनमा एक दशक सम्म योगदान पुर्‍याएको जनवादी कलाकार” हुन्।

“हामीले बन्दुक उठाएनौँ, तर जनवादी कलाकारको रूपमा माइक उठायौँ। पार्टीको नारालाई आवाजमार्फत् उठायौँ। ज्यान जोखिममा राखेर सडक सडकमा नाच्दै हिँड्यौँ । “तर बदलामा के पायौँ? केही पनि छैन। हामीलाई नचाउनेहरू देखि सँगै नाच्नेहरूले पद र प्रतिष्ठा कमाए। अब त बाटोमा कतै हामीसँग ठोक्किँदा समेत चिन्दैनन्,” उनले भनिन्।

उनले गणतन्त्र आएपछि आफू ‘जनवादी कलाकार’बाट ‘कलाकार’ मात्र भएको जिकिर गरिन्। त्यसयता एक छाक खानकै लागि गर्नु परेको सङ्घर्ष निकै कठिन भएको उनी बताउँछिन्।

“भिडियोमा देखाइएको कथा कसैमाथिको लाञ्छना होइन। परिस्थितिको चित्रण हो। जसमा सम्बन्धित पार्टीको ध्यानाकर्षण हुन आवश्यक छ,” उनले भिडियोमा प्रस्तुत हुनुको औचित्य प्रष्ट्याइन्।

हाल भिडियोमा आफूले निर्वाह गरेको चरित्रको विरोध हुनुलाई उनी “आफ्ना योद्धाहरूको पीडादायी अवस्थाबारे माओवादीका ठूला नेता बेखबर छन्” भन्ने सङ्केत मान्छिन्।

प्रकाश सपुतले भने ‘पीर’ एउटा बेजोड प्रश्न भएको लेखेका छन्।

उनले एक फेसबुक पोस्टमा लेखेका छन्ः पीर एउटा सिर्जना, गीत र भिडिओको साथसाथै एउटा प्रश्न पनि हो। बेजोड प्रश्न।

उनले भिडिओमा झल्किने माओवादी लडाकुहरूको वर्तमान अवस्थालाई इङ्गित गर्दै लेखेका छन्: “यस्तो गीतहरु गाउँदिनँ, बनाउँदिनँ भन्छु तर फेरि कसोकसो सिर्जनाहरू उतै मोडिन्छन्। थाहा छैन म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो।”

नेपालमा माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेकामध्ये एक शीर्ष नेता डा. बाबुराम भट्टराईले प्रकाश सपुतको पक्षमा आफ्नो मत राखेका छन्। उनले गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका हुन्।

“म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ,” उनले ट्वीट गरेका छन्।

उनले सर्जकलाई धम्काउनुको साटो क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनु उचित हुने बताएका छन्।

महिलाहरू आफ्नो सन्तान र श्रीमान्‌को उपचारका निम्ति देह बेच्न बाध्य भएको तथ्य आफूले अनुसन्धानको क्रममा प्रत्यक्ष बुझेको भट्टराईको दाबी छ।

“हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्। तीतो सत्य स्वीकारौँ,” उनले आग्रह गरेका छन्।

 

प्रकाशित मिति: २०२२-०३-१३ , समय : १७:०३:३१ , १ वर्ष अगाडि