Salyan Paribesh , ७७८ पटक हेरिएको

आज माघमहिना काे ३ गते आजकै दिनदेखि चाेखाे अनि पबित्र मनले श्रि स्वस्थानि माता काे व्रत जजस्ले बस्ला सुन्ला कथा बाचन गर्ला त्यति पनि नसके श्रि स्वस्थानि माताकाे किताब घरमा राख्ला उस्काे हरेक मनाेकामना पुर्ण हाेला भन्ने मान्यताका साथ शास्त्रमा उलेख पनि गरियकाे छ ।
सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।
हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।
श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।
आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रत कथाबारे थप कुरा उल्लेख गरौँ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।
वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यता क्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोशमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दु भएको दस्ताबेजहरूमा उल्लेख छन् ।
यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि….’
श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।
प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।
स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।
सतीदेवी दक्ष प्रजापतिकी छोरी हुन् । दक्ष प्रजापति यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतीदेवीकी पति आराध्य देव भगवान् महादेवको अपमान गर्छन् । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्नि कुण्डमा हाम फालेर देह त्याग गर्छिन् ।
सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भाव विह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अङ्गहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अङ्गहरू पतन भएका ठाउँहरू पछि शक्ति पीठका रूपमा चिनिन्छन् ।
प्रकाशित मिति: २०२२-०१-१७ , समय : ११:२१:३० , १ वर्ष अगाडि