यौन दुर्व्यवहारका आरोपीलाई समात्न गएको महिला प्रहरीमाथि आक्रमण

Salyan Paribesh , ४६९  पटक हेरिएको

विराटनगर / चैत, ६
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।
लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।

लेटाङ ५ का वडा अध्यक्ष भीम सूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडा अध्यक्षले प्रहरीलाई बोलाएका थिए ।

तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई लैजान दिएन । दिनभरजसो स्कुल तनावग्रस्त बन्यो । ‘हामीले कानुनी कारबाहीका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाएका थियौं, तर स्थानीय र विद्यार्थीले जोगाउन खोजियो भन्दै प्रदर्शन गरे’ उनले भने, ‘दिउँसो १ बजेसम्म सामान्य रहेको स्कुल तनावग्रस्त बन्यो ।’ स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

आक्रोशित भीडले भने शिक्षक व्यवस्थापन समितिका सदस्य र प्रहरीमाथि आक्रमण गरेका थिए । ‘दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सकिएन, राति प्रहरीले लैजाँदै थियो, बाटोमा आक्रमण भयो’ उनले भने,‘प्रहरीको अवस्था गम्भीर छ ।’

प्रहरी स्रोतका अनुसार एक जना महिला प्रहरीको घाँटीमा हतियार प्रहार भएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २०२२-०३-२० , समय : १७:४२:०२ , ११ महिना अगाडि