Salyan Paribesh , ६८३ पटक हेरिएको
पाँचथर — अत्यधिक चिसो भए बेंसी झार्नु र गर्मीमा लेक उकालिनु चौंरीपालकका लागि निकै सास्तीको यात्रा हुन्छ । चौंरीले गर्मी खप्न सक्तैनन् । तर चौंरीपालनमा राम्रो आम्दानी छ, जसले यसमा लाग्ने लगानी श्रम र समयको सन्तोषजनक हिसाब दिन्छ । त्यसैले हिजोआज फेरि चौंरी पाल्न पहाड उक्लिनेहरू बढ्न थालेका छन् ।

पाँचथरमा पाँच वर्षदेखि आयोजना भइरहेको महोत्सवमा केही किसान चौंरीपालनमा सास्ती भए पनि फाइदा मनग्य हुने बताइरहेका भेटिए । पाँच वर्ष मलेसियामा बसेर फर्केका फालेलुङ–४ का सन्दीप राईले फालौटमा चौंरी पाल्न थालेका छन् । साउदी र कतारमा ७ वर्ष श्रम गरेर फर्केका फालुङकै सन्तकुमार राईले पनि यही पेसा अँगालेका छन् । ‘पहिले गोठाले जीवन कष्टकर थियो । घिउ, छुर्पी बेच्न इलाम र पाँचथरसँगै भारतका विभिन्न बजार पुर्याउनुपर्थ्यो, ती समस्या समाधान हुँदै गएकाले फेरि गोठ फर्केको हुँ,’ उनले भने ।
सन्तकुमारका अनुसार अहिले चौंरीगोठसम्म यातायात र सञ्चारको पहुँच छ । रोगब्याधी लाग्दा उपचार सजिलो भएको छ । ‘अब तरिका पुर्याएर चौंरीपालन गर्दा राम्रै फाइदा लिन सकिने भएको छ,’ उनले भने । भारतको सिक्किमसँग सिमाना जोडिएका पाँचथर–इलामका सन्दकपुर, आहाल, चारराते, नेपालटार, फालौट, बिखे, तीन सिमाना र तारिफुले चौंरी गोठका पकेट क्षेत्र हुन् । ती क्षेत्रमा वन्यजन्तुको आक्रमण, उत्पादित वस्तु निर्यातमा समस्या, बजार अभाव, रोगले निम्त्याउने खतरा जस्ता समस्याले चौंरीपालन व्यवसाय संकटमा पर्न नदिन चौंरी किसान र सरोकारवालासँगको सहकार्य भएको छ ।
गाउँपालिका, प्रदेश र संघीय सरकारका विभिन्न निकायले चौंरी प्रवर्द्धनका लागि महोत्सवसँगै विभिन्न कार्यक्रम सुरु गरेपछि किसानको आकर्षण बढ्न थालेको हो । पछिल्लो समय विभिन्न व्यवसायमा संलग्न धेरै युवा चौंरीपालनमा फर्केको अगुवा किसान चन्द्रलाल नेपाल बताउँछन् । लोप हुन लागेको यो व्यवसाय प्रवर्द्धनका लागि चौंरीपालक र चौरीजन्य संघसंस्थासँगको साझेदारीमा फालेलुङ गाउँपालिकाले यस क्षेत्रमा २०७४ देखि चौंरी पर्यटन महोत्सव आयोजना गर्न थालेको थियो ।
‘महोत्सव आयोजना हुन थालेपछि चौंरीगोठ रहेका खर्कसम्म बाटोघाटो आयो, भेटेरिनरी अस्पताल, स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारका विभिन्न निकायबाट चौंरी प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा अनुदान, रोग लाग्दा उपचार र बिमाका कार्यक्रम अगाडि बढे,’ अगुवा चौंरीपालक नेपाल भन्छन्, ‘स्वदेश र विदेशबाट चौंरी हेर्न आउनेहरूबाट उत्पादनको बजारीकरणमा सहयोग पुग्यो, पछिल्लो समय व्यवसायी स्वयंले गोठमै आएर चौंरीजन्य उत्पादन खरिद गर्न थाले ।’
चौंरीलाई हिमालको संस्कृति र पर्यटनसँग जोड्दै महोत्सवका माध्यमबाट पर्यटनको विकास पनि गर्न खोजिएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । यो वर्ष १ वैशाखबाट फालेलुङ–४ चाररातेमा सुरु भएको पाँचौं चौंरी पर्यटन महोत्सव ४ दिनसम्म चल्नेछ । भारतको सिक्किम र पश्चिम बंगालसँगको सीमावर्ती क्षेत्रमा आयोजना गरिएको महोत्सवमा पाँचथरको याङवरक र फालेलुङका गोठबाट ल्याइएका विभिन्न रङ र प्रजातिका चौंरी आकर्षणको केन्द्र बनेका छन् ।
महोत्सवमा किसानले पालेका चौंरी, याक, नाक, तोले, उराङ र डिहीको प्रदर्शनीसँगै चौरी एवं भेडाजन्य उत्पादनका स्टलहरू राखिएको छ । चौंरीसँग सम्बद्ध किसान, संरक्षण संस्था, स्थानीय पर्यटन एवं युवा क्लबले महोत्सवको आयोजना गरेका हुन् । महोत्सव हेर्न प्रदेश १ का पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा र मोरङसँगै भारतको सिक्किम, दार्जिलिङ, पञ्जाब र कर्साङका बासिन्दा पुगेका छन् ।
प्रकाशित मिति: २०२२-०४-१६ , समय : ०२:५६:०५ , २ वर्ष अगाडि