Salyan Paribesh , ९९१ पटक हेरिएको

काठमाडौं । गुलाबको बखान के गर्नु ? सौन्दर्य र सुगन्धको मोहक मिश्रण हो यो । मान्छेको भावनासँग पनि यसको खास साइनो छ । त्यसैले त प्रेम अभिव्यक्त गर्न मान्छेले गुलाबको फूल रोज्छन् ।
प्रणय दिवस यसको साक्षी हो । यसपाली मात्र प्रणय दिवसमा दुई करोड रुपैयाँ बढीको गुलाब आयात भएको छ । त्यसमा घरेलु उत्पादनको त छुट्टै हिसाबकिताब छ । वैंसालु जोडीले आफ्नो प्रेम व्यक्त गर्न गुलाब आदानप्रदान गर्छन् ।
प्रणय दिवसमा मात्र होइन, सामान्य दिनमा पनि गुलाबको माग हुनेगर्छ । चाहे घरको शोभा बढाउन होस् वा कुनै सभा–समारोहलाई झकिझकाउ बनाउन । बर्सेनि करोडौं रुपैयाँको कारोबार हुने गरेको तथ्यांक छ, गुलाब फूलको ।
फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणि पोखरेलका अनुसार नेपालको उत्पादनभन्दा बजारको माग बढी छ । त्यसैले गुलाबको माग धान्न विदेशबाट आयात गरिंदै आएको छ ।
फूल मात्र होइन, बिरुवासमेत आयात गरिरहेको अवस्था छ । भारत मात्र होइन, नेदरल्याण्ड्सबाट समेत यसको कटिङ बिरुवा आयात गरिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नुवाकोट, काभ्रे लगायत ठाउँमा गुलाबको व्यावसायिक खेती हुँदै आएको छ ।
फुल्ने सिजन
गुलाब फुल्ने सिजन वैशाखदेखि मंसिरसम्म होे । सयौं प्रजातिमा पाइने गुलाब हाल डच जातको बढी चलेको छ । उत्पादन धेरै र किसानलाई फाइदा धेरै दिने भएसँगै संसारमा यसको उत्पादन बढी छ ।
कहिले गर्ने खेती ?

गुलाबको बिरुवा (कटिङ) विदेशबाट ल्याउने गरिएको छ । यद्यपि यहाँ उपलब्ध कटिङबाट पनि बिरुवा फैलाउन सकिन्छ । यसको कटिङ रोप्नका लागि माघदेखि चैतसम्मको सिजन उपयुक्त हुन्छ । हुन त गुलाब धेरै प्रजातिको हुन्छ । तर डच जातको गुलाब बढी चलेको छ । उत्पादन धेरै हुने र किसानलाई फाइदा हुने भएकाले व्यावसायिक खेती गर्नेले यो गुलाब रोप्न सक्छन् । अहिले हाइटेक प्रविधिले गर्दा अरु सिजनमा पनि रोप्न सकिन्छ ।
कस्तो माटो र हावापानी चाहिन्छ ?
बलौटे माटो यसका लागि उपयुक्त हुन्छ । यसको लागि १२ देखि ३४ डिग्री तापक्रम आवश्यक पर्दछ । दिउँसोको तापक्रम ३५ डिग्री र रातिको १२ डिग्री भन्दा कम भने हुनु हँुदैन । सिंचाई गर्दा बिहान र साँझको समयमा उत्तम हुन्छ ।
कति प्रजातिका हुन्छन् ?
गुलाबको थुप्रै प्रजाति छन् । कुनै गमलामा रोप्न सकिने हुन्छ भने कुनै बगैंचामा । कलमी गरेर उत्पादन गरिने बाहेक स्थानीय जातका गुलाबमध्ये रुख चढ्ने गुलाब, लहरे गुलाब, बगैंचा कभर गर्ने गुलाब पर्दछन् ।
यसको प्रयोजन
गुलाब बहुउपयोगी फूल हो । ढकमक्क गुलाब फुल्दा हाम्रो मन नै हराभरा हुन्छ । त्यसो त गुलाबको साइनो प्रकृतिलाई मनोहर बनाउनमा मात्र छैन, अरु थुप्रै प्रयोजनका लागि यसको उपयोग हुन्छ । गुलाब जललगायत सौन्दर्य प्रसाधन बनाउनका लागि पनि यो अनिवार्य मानिन्छ ।
यसमा अनुहार एवं छालामा चमक ल्याउने, मुलायम बनाउने गुण हुन्छ । त्यसैले गुलाबको फूल सौन्दर्य प्रसाधन बनाउन प्रयोग गरिन्छ । त्यसैगरी बडी स्प्रे अर्थात् अत्तर बनाउनका लागि पनि गुलाबको फूल प्रयोग गरिन्छ । पानमा राखेर खान होस् वा केक सजाउन गुलाबको प्रयोग हुन्छ । सजावट र उपहारमा त गुलाबको प्रयोग हुने नै भयो ।
प्रकाशित मिति: २०२२-०४-१६ , समय : १२:४९:३६ , १ वर्ष अगाडि