४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो

Salyan Paribesh , १०३५  पटक हेरिएको

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको जानकारी दिएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिए । उनले ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए ।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेको छ ।

प्रकाशित मिति: २०२२-०४-१८ , समय : ११:१३:५६ , १ वर्ष अगाडि