Salyan Paribesh , २२६९ पटक हेरिएको

कोभिडविरूद्धको खोप अभियान सुस्त पहिलो मात्रा खोपसमेत नपाउनेको संख्या ७२ लाख संक्रमण बढ्न सक्ने र १२ वर्षमुनिका बालबालिका जोखिममा पर्ने विज्ञहरुको चेतावनी …
वैशाख ६, २०७९ अतुल मिश्र
काठमाडौँ — भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि प्रतिरोधक क्षमता कायम राख्न अतिरिक्त खोप लिन विज्ञहरूको सुझाव छ ।

दिनहुँ लगाइने खोपको संख्यामा समेत पछिल्ला दिन कमी देखिएको छ । वैशाख १ यताका पाँच दिनमा दिनहुँ सरदर २५ हजार गरी १ लाख २६ हजार ३ सय ४४ जनाले खोप लिएका छन् । सोमबारसम्म जनसंख्याको ७५.९ प्रतिशत अर्थात् २ करोड २१ लाख ५६ हजार १ सय ३१ जनाले एक मात्रा र ६६.४ प्रतिशत अर्थात् १ करोड ३८ लाख २ हजार १ सय ७६ जनाले पूर्ण खोप लगाएका छन् । अतिरिक्त खोप लगाउनेहरू जनसंख्याको ८.२६ प्रतिशत अर्थात् २४ लाख १३ हजार ५ सय ३२ जना मात्र छन् ।
जसका कारण चौथो लहर सुरु भएको खण्डमा १२ वर्षमुनिका बालबालिका संक्रमणको बढी जोखिममा पर्ने खतरा रहेको विज्ञको भनाइ छ ।
भारतमा बढ्दो संक्रमण दरबाट आफूहरू चिन्तित भइरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताए । ‘अब सीमामा पहिले जस्तै स्वास्थ्य परीक्षणमा कडाइ गर्नेछौं,’ उनले भने, ‘भारतमा देखिएका नयाँ संक्रमितमा स्वास्थ्य गम्भीरता छैन कि भन्ने देखिन्छ ।’ सोमबार ३ हजार ६ सय नमुनाको पीसीआर परीक्षण गर्दा ०.२५ प्रतिशत अर्थात् ९ जनामा संक्रमण देखियो भने १ हजार ९१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ जना अर्थात् ०.०९ प्रतिशतमा संक्रमण देखिएको छ । हाल नेफालमा सक्रिय संत्रमितको संख्या ३ सय ५० रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘हालसम्म संक्रमणको अवस्था समान्य छ । सीमा र विमानस्थलमा सोमबारको परीक्षणमा समेत शून्य संक्रमण देखिन्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड भाइरसको विकास जारी छ । नयाँ ‘एक्स ई’ भेरिएन्ट सबैभन्दा पहिले बेलायतमा १९ जनवरीमा पाइएको थियो । यसलाई दुई ओमिक्रोनको ‘सब भेरिएन्ट’, ‘बीए. १’, र ‘बीए. २’ को हाइब्रिड स्ट्रेन भनिएको छ । ‘बीए. २’ को दाँजोमा ‘एक्स ई’ भेरिएन्टको प्रसारदर १० प्रतिशत बढी रहेको छ ।
प्रकाशित मिति: २०२२-०४-१९ , समय : ०६:२२:१२ , १ वर्ष अगाडि