Salyan Paribesh , ८८१ पटक हेरिएको

बलात्कार मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल शाहलाई बुधबार (आज) नवलपरासी पूर्व लगिने भएको छ। जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बाेलाएकाे हाे।
त्यहाँ पनि उनै पीडितका तर्फबाट पलविरुद्ध बलात्कार मुद्दा दिइएकाे हाे। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेकाे हाे।
तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदै छ। यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो।
जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ। साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको छ।
यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियाे। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन्।
त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ। यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए। पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो।
बुबासँगै हुँदा पीडितले पलले बलात्कार नगरेकाे बयान दिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बताएका छन्।
यो पनि : पल शाहले बलात्कार गरेको छैन भनेर रुन थालेपछि…
यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुकाे उक्साहटमा उजुरी हालिएकाे उनीहरुले बताए। यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
अदालतले आफैं गराएको बयानलाई विशेष प्रमाणका रुपमा लिन्छ। तर केही घटनामा पीडितले इन्कार गरे पनि अदालतले दोषी ठहर गरेका उदाहरण पनि छन्।
यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ। हाल अध्यादेशमार्फत ल्याइएको फौजदारी संहिताअनुसार पीडितलाई हुने न्यूनतम सजायको आधा सजाय पीडितलाई हुन सक्ने व्यवस्था छ। तर पीडित नाबालिग भएकाले त्यसको पनि दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ।
अदालतले दुवैलाई सफाइ दिन पनि सक्नेछ।
प्रकाशित मिति: २०२२-०४-२० , समय : ०३:२४:३६ , १ वर्ष अगाडि