Salyan Paribesh , ८१४ पटक हेरिएको

रिभर फल्स पावर लिमिटेडले गत चैत २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।
आईपीओमा रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आइएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति: २०२२-०४-२४ , समय : ०३:०२:३३ , १ वर्ष अगाडि