Salyan Paribesh , ८७४ पटक हेरिएको

नेकपा एमालेले पाँच महानगर र ९ उपमहानगरपालिकामा आफ्नो उम्मेदवार छानेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका उम्मेदवार बनाउने निर्णय गरेको हो।
चाँसो र चर्चा रहेको काठमाण्डौ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने भएको छ। पूर्व मिस नेवा डंगोलले यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन्।
एमालेको महानगर कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर स्थापित, नगर अध्यक्ष निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो भने प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धरको पनि लबिङ थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सिफारिस भएकाभन्दा फरक व्यक्तिलाई अघि सार्न सक्ने समेत बताएका थिए । तर स्थापितले नै टिकट पाएका छन् ।
उपमेयरको टिकट पाएकी डंगोलले भने मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । मिस नेवाः समेत रहेकी उनले चुनावी घोषणापत्र समेत सार्वजनिक गरेको अवस्थामा एमालेबाट उपमेयरको टिकट पाएकी हुन्।
त्यस्तै पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ। ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाइएको छ ।
नगर कमिटीबाट उनीहरुको मात्र नाम सिफारिस भएको थियो । मेयरको टिकट पाएका व्यञ्जनकार २०७४ मा पनि चिरिबाबु महर्जनसँग केही सय मतान्तरले पराजित भएकी थिइन् भने मञ्जली पूर्व माओवादी समूहबाट एमालेमा आएकी हुन्।
पोखराको मेयरका लागि १२ जनाले दाबी पेश गरेका थिए । जसमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाइँ भइपछि मतदान गर्ने तय समेत भइसकेको थियो । तर अन्तिम समयमा हस्तक्षेप गरेर मतदान राखेको उम्मेदवार छनोटमा पनि कम चर्चामा रहेका पौडेललाई छनोट गरिएको छ । लामो समय शिक्षक आन्दोलनमा जोडिएका उनी ओली निकट मानिन्छन् ।
उपमेयरको टिकट पाएकी मञ्जुदेवीले यो पटक उम्मेदवारीका लागि दावी नै पेश गरेकी थिइनन् । तर अरु ११ दाबेदारलाई छाडेर एमालेले उनलाई टिकट दिएको छ।
भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । नगर कमिटीले उनको मात्र नाम सिफारिस गरेको थियो । टिकट पक्का जस्तै भएकाले उनले बाग्मती प्रदेशसभाको सदस्यबाट समेत राजीनामा दिइसकेका छन् ।
एमालेले उपमयरको उम्मेदवार भने टुंग्याएको छैन। राप्रपासँग तालमेलको प्रयास गर्ने, नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।
एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनी टिकट पाउने शर्तमै उनी एमाले प्रवेश गरेका थिए । एमालेले उपमेयर भने चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई छाडेको छ।
बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । मेयरमा सागर गापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने सम्भावना छ।
त्यस्तै उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा उपमहागरको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।
बाँकीमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।
यी हुन् उम्मेदवार
उपमहानगरपालिका
धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु
नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल
तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी
घोराही
मेयर– नरुलाल चौधी
उपमेयर- हुमा डिसी
बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले
धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु
इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी
कलैया
मेयर- बिनोद शाह
प्रकाशित मिति: २०२२-०४-२४ , समय : ०३:०९:१५ , २ वर्ष अगाडि