Salyan Paribesh , ८३० पटक हेरिएको

काठमाडौँ — नेपाली कांग्रेसले विगत पाँच वर्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक बनेको व्याख्या गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि आइतबार जारी गरेको घोषणापत्रमा कांग्रेसले २०७४ को निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले इतिहासमै सर्वाधिक अनुकुल र राजनीतिक स्वर्णिमकाल पाए पनि त्यसको सदुपयोग गर्न नसकेको र यो पाँच वर्ष खेर गएको व्याख्या गरेको हो ।

कांग्रेसले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी र सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहस नहस पार्ने काम गरेको आरोप लगाएको छ । ‘नेपाल कम्युनिस्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो,’ कांग्रेसले भनेको छ, ‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउने होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समगमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुखान्त हो ।’
कांग्रेसले ओली सरकारले गरेका खराब कामको फेहरिस्त नै प्रस्तुत गरेको छ । महामन्त्री थापाले नेपाली राजनीतिमा यो पाँच वर्षको उपयुक्त मूल्यांकन हुनैपर्ने बताए । ‘सात दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कुटनीति, सामाजिक सद्भाव र सहिष्णुलगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीको सरकारले गरेको सुनियोजित आक्रमण गर्यो, यसको हामीले चर्चा होइन, जनताको माझमा फेहरिस्त प्रस्तुत गरेर यसको उपयुक्त मुल्यांकन हुनुपर्छ,’ महामन्त्री थापाले भने ।
साभार : कान्तिपुर
प्रकाशित मिति: २०२२-०४-२४ , समय : ०९:१५:०७ , १ वर्ष अगाडि