Salyan Paribesh , १०१० पटक हेरिएको

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १०० अंक बढेर बन्द भएको छ। यस दिन इन्ट्रा डेमा १०० अंकभन्दा बढी बढेपनि अन्तिम समयमा भने सामान्य घटेर बन्द भएको हो।
आइतबार नेप्से परिसूचक ९५.५२ अंक अर्थात ४.११ प्रतिशत बढेर २४२०.९१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१९ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। पछिल्लो समय साढे १ अर्बको हाराहारीमा कारोबार भइरहेको बजारमा यस दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन २३८ स्टकको ४३ हजार ४५० पटकको कारोबारमा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको ६६ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से उच्च अंकले बढेसँगै यस दिन दुई दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ।
यस दिन कारोबारमा आएका ४ वटा स्टकको मात्र मूल्य घटेको छ। जसमध्ये दुई ऋणपत्र रहेका छन्। सो बाहेक यस दिन नेष्डो समृद्ध लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको मूल्य सामान्य घटेको हो।
आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ७.३२ प्रतिशत, विकास बैंकको ६.५७ प्रतिशत, लगानीको ५.६६ प्रतिशत र निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शिर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
प्रकाशित मिति: २०२२-०४-२४ , समय : १०:४२:५८ , २ वर्ष अगाडि