सिरहाका अधिकांश पालिकामा पुरानै उम्मेदवारको निरन्तरता

Salyan Paribesh , १४४७  पटक हेरिएको

स्थानीय तह निर्वाचन २०७९

सिरहा — स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरूले जिल्लाका अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रले निवर्तमान मेयर हरिनारायण चौधरी र उपमेयर फुलकुमारी श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ ।

यसैगरी एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा तेस्रो स्थानमा रहेर पराजित भएका शिवशंकर महतोलाई मेयर र उपमेयरमा शोभा बराललाई उम्मेदवार बनाएको छ । कांग्रेसका जिल्ला सभापति समेत रहेका संविधानसभा सदस्य रामचन्द्र यादव आफैंले धनगढीमाईको मेयरको उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित गोलबजारका निवर्तमान मेयर देवानाथ साह र उपमेयर रेशमकुमारी थापा, मिर्चैयाका मेयर श्रवणकुमार यादव, कर्जन्हाका मेयर गंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रेष्ठ पुनः उम्मेदवार बनेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा जनता समाजवादी पार्टीबाट निवर्तमान मेयर अशेश्वर यादव पुनः मेयर र जसपाकी महिला नेतृ दलित समुदायकी शशिमित्रा माझी मुसहरले उपमेयरको उम्मेदवारी दिएका छन् ।

सखुवानन्कारकट्टी गाउँपालिका नेकपा (एकीकृत समाजवादी)बाट निवर्तमान पालिका अध्यक्ष केदार यादवले उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यादव एमालेबाट निर्वाचित भएका थिए । यसैगरी औरहीका गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान पालिका अध्यक्ष सिदार्थ यादव, माओवादी केन्द्रबाट अर्नमा गाउँपालिकामा निर्वतमान अध्यक्ष ठक्कु महतो कोइरीले उम्मेदवारी दिएका छन् । नवराजपुर गाउँ पालिकामा कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले नै उम्मेदवारी दिएका छन् ।

एमालेले लहान नगरपालिकामा निवर्तमान मेयर मुनि साह सुडी र उपमेयरमा सरियारकुमारी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले क्षेत्रीय सभापति महेश चौधरीलाई मेयर उठाएको छ भने जनता समाजवादी पार्टीले उपमेयरमा दुई जनाको उम्मेदवारी दिएको छ ।

बागी उम्मेदवार
जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिकामा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । कर्जन्हामा युगेश्वर राउत मेयर र कल्याणी ढुंगानाले उपमेयरमा स्वतन्त्र बागी उम्मेदवारी दिएका छन् । त्यस्तै, गोलबजार नगरपालिकामा रामचन्द्र महतो मेयर र बासना मोक्तानले उपमेयरमा स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका छन् ।

अन्य पार्टीहरूले पनि २०७४ को निर्वाचनमा उठाएका उम्मेदवारहरुलाई निरन्तरता दिएका छन् ।

साभार : कान्तिपुर

प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०३:३९:१३ , २ वर्ष अगाडि