Salyan Paribesh , १०२९ पटक हेरिएको

दाङ — बंगलाचुली गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख भएर भक्तबहादुर जीसीले पाँच वर्ष बिताए । जनप्रतिनिधिहरूसँग काम गर्दै जाँदा उनलाई नीति निर्माण तहमै काम गर्ने रहर जाग्यो । अनि आफैंले जागिर गरिरहेको पालिकामा उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

२२ वर्ष ५ महिनासम्म गरेको जागिर छोडेर उनी अब जनप्रतिनिधि बन्ने दौडमा लागेका हुन् । बंगलाचुलीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । उनी कांग्रेसका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् । अध्यक्षमा माओवादीका तुलसीराम पुन उम्मेदवार छन् । अहेव चौथो तहबाट जागिर सुरु गरेका जीसी अहिले छैटौं तहको अधिकृतमा कार्यरत थिए । स्वास्थ्य सेवामा पनि जनसम्पर्कमै बसेर काम गरेकाले उनलाई निर्वाचनमा होमिन सहज भयो ।
‘मलाई पालिकाको एउटा इकाइमा बसेर काम गरिरहँदा अझ माथिल्लो तहमा रहेर काम गर्ने इच्छा जाग्यो,’ उनले भने, ‘नीति निर्माण तहमै बस्दा केही परिवर्तन गर्न सकिने आत्मविश्वास बढ्यो अनि जागिर छोडेर राजनीतिमा होमिएँ ।’
स्वास्थ्य मानवीय संवेदना बढी जोडिएको क्षेत्र भएकाले निर्वाचनमा सहजता हुने उनको आशा छ । बंगलाचुली–१ रिबाङमा जन्मेका जीसीले सानैदेखि गाउँका दुःख बुझेका छन् । ‘गाउँमा सडक थिएन, खटियामा राखेर बिरामी बोकेर हिंड्नुपर्ने थियो,’ उनले भने, ‘०५३ मा आमा मुटुको रोगले बिरामी पर्नुभयो । बोकेर ४८ घण्टामा सदरमुकाम घोराही पुर्याइयो तर आमालाई बचाउन सकिएन ।’ आईए पढ्दै गरेका जीसी त्यसपछि अहेव पढ्न थाले । स्वास्थ्य शाखामा काम गर्दा पनि घरघरमा सेवा दिन हिंडेकाले निर्वाचनमा पनि जनसम्पर्कले सहयोग पुग्ने उनले बताए । ‘नागरिकका स्वास्थ्यसम्बन्धी धेरै समस्या छन् । म घरघर पुगेर सेवा दिएको छु,’ उनले भने, ‘स्वास्थ्यलगायत ग्रामीण क्षेत्रको विकासमा अझ बढी योगदान गर्न राजनीतिमा लागेको छु ।’
०४६ सालदेखि प्रजातान्त्रिक विचार बोकेर बसेका कारण फेरि पार्टीमा जोडिन सहज भएको उनले बताए ।
प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०३:५०:०८ , १ वर्ष अगाडि