लमजुङ, बागलुङ, पर्वतमा गठबन्धन हुँदा गोरखा र तनहुँका एउटै पालिकामा भएन गठबन्धन

Salyan Paribesh , ११३७  पटक हेरिएको

अधिकांशमा भएन गठबन्धन

लमजुङ, बागलुङ, पर्वतमा गठबन्धन हुँदा गोरखा र तनहुँका एउटै पालिकामा भएन

कास्की — गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल हुन सकेन । सबै दलले आ–आफ्नो शक्ति बढी भएको आकलन गर्दै, प्रदेश र संसदीय निर्वाचनमा आ–आफ्नो चुनावी क्षेत्रलाई जोगाउने प्रयासले गठबन्धन भत्किएको हो । प्रदेश राजधानी रहेको कास्कीको पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा मात्र गठबन्धन भएको छ ।

पोखराको प्रमुख पदमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसका कोपिला रानाभाटले सोमबार गठबन्धनबाट उम्मेदवारी दर्ता गरे । महानगरकै ३३ वटा वडामा गठबन्धनबीच सहमति जुट्न सकेन । गठबन्धनका दलले आ–आफ्नो तरिकाले वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् । कास्की कांग्रेसले सुरुदेखि नै गठबन्धनको विरोध जनाउँदै आएको थियो । यस्तै, कास्कीमा ५ पालिकामध्ये दुईवटामा मात्र गठबन्धन भएको छ । तीनवटामा सहमति जुट्न नसकेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले बताए । ‘अन्तिमसम्म प्रयास गरिएको हो तर सहमति जुट्न सकेन,’ उनले भने ।

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ३८ वटामा मात्रै गठबन्धन भएको छ । जसअन्तर्गत म्याग्दीका ६ पालिकामध्ये १ वटामा मात्र गठबन्धन भएको छ भने, लमजुङका ८ पालिकामध्ये ८ वटैमा, मनाङका ४ मध्ये एउटामा, मुस्ताङका ५ पालिकामध्ये एउटामा, बागलुङका १० पालिकामध्ये १० वटामै, पवर्तका ७ पालिकामध्ये ७ वटै, नवलपुरका ८ पालिकामध्ये २ मा, स्याङ्जाका ११ मध्ये ६ वटामा गठबन्धन भएको छ । गोरखाका ११ र तनहुँका १० पालिकामध्ये कुनैमा पनि सहमति जुट्न सकेन । उम्मेदवार मनोनयनको अन्तिम दिनसम्म पनि दलका नेताहरूले गरेको प्रयास सार्थक हुन नसकेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै दलका बैठक सकाएका थिए । गोरखामा केन्द्रबाट नै गठबन्धन गर्ने दबाब आएको भन्दै जिल्लास्तरीय नेताले गठबन्धन गर्न मानेनन् । आइतबार बेलुकासम्म सहमति भएका नेताहरू उम्मेदवारी दर्ता गर्न आ–आफ्नै तरिकाले निर्वाचन अधिकृतको कार्यालय पुगेको स्रोतले जनाएको छ ।

गत स्थानीय निर्वाचनमा एमाले र कांग्रेसको वर्चस्व थियो । माओवादी तेस्रो थियो । कांग्रेस आफू एक्लै लड्न सक्ने उल्लेख गर्दै गठबन्धनको आवश्यक नपर्ने बताउँदै आएको छ । कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गरिएको बताए । ‘जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ के गठबन्धन गर्नु ?’ उनले भने, ‘गठबन्धनको मुख्य सार पोखरा महानगर हो । गठबन्धनका साझा उम्मेदवार जिताउन हामी पार्टीको निर्णयअनुसार भोट हाल्छौं ।’ यता, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धन गर्ने दलमा विशेषतः कांग्रेस गम्भीर बन्नुपर्ने बताइन् । सोचेअनुरूप गठबन्धन नभएको उल्लेख गर्दै उनले अझै पनि सहमतिका लागि समय बाँकी रहेको बताइन् । ‘हामी अझै पनि गठबन्धनमै जानुपर्छ भन्ने पक्षमा छौं,’ उनले भनिन् । गण्डकीमा तालमेलबिना आ–आफ्नै क्षमताले निर्वाचित हुने सम्भावना सत्तारूढ दलमा कम रहेको आकलन गरिएको छ ।

प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०३:५२:५६ , १ वर्ष अगाडि