कर्णालीका अधिकांश पालिकामा गठबन्धनबाट छुट्टाछुट्टै मनोनयन

Salyan Paribesh , ६७४  पटक हेरिएको

स्थानीय तह निर्वाचन २०७९

अधिकांश पालिकामा सत्ता गठबन्धनका दलको आ–आफ्नै मतभार रहेको दाबी, पार्टीबाट टिकट नपाएपछि कतै स्वतन्त्र त कतै बागी उम्मेदवारी

कर्णाली — सुर्खेतका नौवटै स्थानीय तहमा सोमबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट उपेन्द्र खड्का र रामकुमारी थापाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनालले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रबाट प्रमुखमा राजेन्द्रदेव गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेतमा सोमबार उम्मेदवारी दिन जाँदै एमालेका नेता–कार्यकर्ता । तस्बिर : कान्तिपुर

नेकपा एकीकृत समाजवादीबाट वीरेन्द्रनगरको प्रमुखमा वीरबहादुर रावतले उम्मेदवारी दर्ता गराउँदा उपप्रमुखमा धना शाहीले उपप्रमुखमा उम्मेदवारी दिएकी छिन् । नगरप्रमुखका लागि राप्रपाका तर्फबाट मुकुन्दश्याम गिरी र उपप्रमुखमा लक्ष्मीकुमारी विकले उम्मेदवारी दर्ता गराएका छन् ।

वीरेन्द्रनगरको प्रमुख पदका लागि चिन्तामणि शर्मा, सिद्धराज खड्का, उमानन्द पंगाली र भीमप्रसाद शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नगर उपप्रमुखमा अनिल ढकालले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

भेरीगंगा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट रामबहादुर सिंह र उपप्रमुखमा प्रतीक्षा विकले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार नेकपा एमालेबाट प्रमुखमा यज्ञप्रसाद ढकाल र उपप्रमुखमा धनसरा बोहोराले उम्मेदवारी दिएका छन् । राप्रपाबाट प्रमुखमा गोपाल हमाल र उपप्रमुखमा मिना बिसीले मनोनयन दर्ता गराएका छन् ।

गुर्भाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट तिलकबहादुर खत्री र उपप्रमुखमा सुशीला कुमारी विश्वकर्मा सुनारले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिइन् । उनका अनुसार नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा हस्तबहादुर पुन र मैना विकको उम्मेदवारी परेको छ । यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जयबहादुर डाँगी र उपप्रमुखमा टीका शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

गुर्भाकोट नगरपालिकाको प्रमुखमा मात्रै नेकपा (एकीकृत समाजवादी) का तर्फबाट गौमाया वलीले उम्मेदवारी दिएकी छन् । यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट पनि प्रमुखमा मात्रै टेकबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट प्रमुखमा कलावती रेग्मी र उपप्रमुखमा मोहन सापकोटाले मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा जयबहादुर खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लेकवेशी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट उमेशकुमार पौडेल र उपप्रमुखका लागि लिलमतीले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट प्रमुखमा देव राना र उपप्रमुखमा विमला खड्लुकको उम्मेदवारी दर्ता भएको छ । राप्रपाबाट प्रमुखमा रामप्रसाद ढकाल र उपप्रमुखमा विमला थापाले मनोनयन दर्ता गराएका छन् । नेमकिपाबाट देवबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।

पञ्चपुरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट धनबहादुर थापा र उपप्रमुखमा दुर्गाकुमारी जैशीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए । उनका अनुसार नेपाल परिवार दलको तर्फबाट प्रमुखमा धिरेन्द्रकुमार वयक क्षेत्रीको उम्मेदवारी परेको छ । नगर उपप्रमुखका लागि दलबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रमुखमा दीपबहादुर विक र उपप्रमुखमा बिमला कठायतको उम्मेदवारी परेको निर्वाचन अधिकृत भट्टले जनाए । यस्तै, राष्ट्रिय जनमोर्चाको तर्फबाट शशीराम कँडेल र पुर्णा कँडेलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिएको उनको भनाइ छ ।

चिंगाड गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट डोरप्रसाद शर्मा र उपाध्यक्षका लागि मनमाया आचार्यले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट अध्यक्षमा बोधबिक्रम जिसी र उपाध्यक्षमा मिनाकुमारी रोकायाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट दीपबहादुर रानाको उपाध्यक्षमा मात्रै उम्मेदवारी परेको छ । राप्रपाबाट अध्यक्षमा मानबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार हरिप्रसाद शर्माले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपप्रमुखमा चन्द्रा रानाले पनि स्वतन्त्र उम्मेदवार छिन् ।

बराहताल गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि घनश्याम पाण्डे र उपाध्यक्षका लागि दुर्गाकुमारी विष्टले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट अध्यक्षमा अर्जुनकुमार बुचामगर र उपाध्यक्ष पदका लागि नन्दकली सुनारले उम्मेदवारी दर्ता गराएको छन् । कांग्रेसबाट भीमबहादुर भण्डारी र लक्ष्मी पुन मगरले क्रमशः अध्यक्ष उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । राप्रपाबाट अध्यक्षमा गोबिन्दबहादुर पुलामी र उपाध्यक्षमा कविता शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।माओवादी केन्द्रबाट अध्यक्षमा ईश्वरभक्त सुनार र उपाध्यक्षमा भुमीसरा टोमटाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत पौडेलले बताए । उनका अनुसार अध्यक्षका लागि भीमबहादुर भण्डारी र उपाध्यक्षका लागि खगेन्द्रवेद गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिम्ता गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा वीरेन्द्र रावत र उपाध्यक्षमा बालकुमारी पुन मगरले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । माओवादी केन्द्रबाट ज्योती चन्द र चित्रबहादुर हमालको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी परेको छ । राप्रपाबाट अध्यक्षका लागि टीकानाथ योगी र उपाध्यक्षका लागि लक्ष्मी पौडेलको उम्मेदवारी दर्ता भएको छ ।

जाजरकोटको भेरी नगरपालिकासहित अधिकांश पालिकामा सत्ता गठबन्धन दलहरूले आआफ्नै मतभार रहेको दाबी गर्दै छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

बारेकोट गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा अहिलेका अध्यक्ष महेन्द्रबहादुर शाह र उपाध्यक्षमा कालु ज्योतिले नाम दर्ता गराएका छन् । माओवादी केन्द्रबाट अध्यक्षमा कसैले पनि दर्ता गराएका छैनन् भने उपाध्यक्षमा निशान गिरीले मनोनयन दर्ता गराएका छन् । कुशे गाउँपालिकामा पनि गठबन्धनको तर्फबाट कांग्रेसकै बहालवाला अध्यक्ष हरिचन्द्र वस्नेत र उपाध्यक्षमा देविका सिंहले मनोनयन दर्ता गराएका छन् । माओवादीबाट जनकराज गौतम र उपाध्यक्षमा विकास रोकायले मनोनयन दर्ता गराएका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । तत्कालीन संविधानसभा सदस्य राजुसिंह कठायत, गणेशप्रसाद उपाध्याय, विर्ष कार्कीलगायत कांग्रेसबाट उम्मेदवार बनेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–१, २ र ३ का स्थानीयको संयुक्त बैठक मंगलबार धोगाउँमा बस्यो । उक्त भेला कुनै राजनीतिक दलको थिएन । स्थानीयले निर्धक्क ढंगले आनो भोट आफैं हाल्न पाउनुपर्ने वातावरणको माग गर्दै भेलाको आयोजना गरेका हुन् । उक्त भेलाले मताधिकार खोसिने भन्दै बाहिरका मानिसलाई गाउँ प्रवेशमा रोक लगाएको छ ।

स्थानीयले असुरक्षा हुन सक्ने भन्दै तत्काल प्रहरी र सेना गाउँ पठाइदिन सरकारसँग आग्रह गरेका छन् । ‘यसअघिका निर्वाचनमा गाउँभन्दा बाहिरका मान्छे गाउँ पसेर जबरजस्ती मतदान गर्न र धर्मग्रन्थ छुवाएर भोट हाल्न लगाउने गरेका थिए,’ स्थानीय अगुवा साम्डुप फुर्वाले भने, ‘यो वर्ष पनि गाउँ बाहिरबाट आएका झन्डै ५ मानिसले जबरजस्ती गर्न खोजेपछि गाउँ भेला गरेरै सुरक्षाको माग गरेका हौं ।’ उनले हरेक पटकको निर्वाचनमा आफैं मतदान गर्न नपाएको गुनासो गरे ।

स्वविवेक उम्मेदवारी दिन र मतदान गर्न पाउनुपर्ने अधिकार सुरक्षित गरिदिन सरकारलाई गुहारिएको स्थानीय छोइटाक गुरुङले बताए । ‘अहिले पनि काइके गाउँपालिकाबाट मानिसहरू विभिन्न बहानामा गाउँ पसेर मतदातालाई प्रभावित पार्न खोजिरहेका छन्,’ उनले भने, ‘पहिले पनि विभिन्न बहानामा आफ्नो मताधिकार गुमाएका छौं, अब त गुमाउन चाहन्नौं ।’

स्थानीयले वैशाख ५ देखि ३० गतेसम्म ३ वडाका कुनै पनि घर र होटलमा गाउँभन्दा बाहिरका मान्छेलाई खान र बस्न नदिने निर्णय गरेका छन् । यदि कसैले गुण्डागर्दीका शैलीमा गाउँ पस्न खोजे त्यसको जिम्मा उसैले लिनुपर्ने निर्णय गरिएको स्थानीय धावासाङ्बो गुरुङले बताए । ‘हदै गर्न थालिएपछि बाहिरका मान्छेलाई गाउँ प्रवेशमा बन्देज गरिएको हो,’ उनले भने ।

भेलामा गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ पनि सहभागी थिए । २०७४ सालको निर्वाचनमा उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिका निर्वाचनमा जस्तो व्यवहार अन्यत्रकै मान्छेबाट हुने भएपछि स्थानीय त्रसित रहेको उनले बताए । ‘म आफैं पनि केही गर्न सक्ने अवस्थामा रहन्नँ,’ उनले भने ।

चाँदनी कठायत (वीरेन्द्रनगर), हरिहरसिंह राठौर (जाजरकोट), एलपी देवकोटा (जुम्ला), हरि गौतम (रुकुम पश्चिम)

साभार : कान्तिपुर

प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०४:०२:२५ , १० महिना अगाडि