ज्ञान र सीप अभावमा वैदेशिक रोजगारीमा ठगिँदै सल्यानका युवा

Salyan Paribesh , १७५३  पटक हेरिएको

सल्यान/ बैशाख, २३ :घरपरिवार चलाउन कठिनाइ भएपछि अधिकांश युवायुवतीहरु रोजगारीका लाग विदेशिन बाध्य छन्। तर, सीप र ज्ञानको अभाव तथा म्यानपावर कम्पनीबाट ठगिँदै आइरहेका छन्।

राम्रो कम्पनीमा काम लगाइदिने भन्दै लालच देखाएर पहिले रकम असुली गर्ने तर पछि सम्पर्कबिहिन हुँदा घरबारी नै बेच्नुपर्ने अवस्थामा समेत पुगेका छन्।

म्यानपावर कम्पनीले पहिले एउटा काम र पारिश्रमिक भनेर मलेशिया उडाए पनि मलेशिया पुगेपछि भने अनुसारको काम र पारिश्रमिक  नपाएको कालिमाटी गाउँपालिका रुपसिंह वलीले बताए। उनले भने ‘पहिले राम्रो कम्पनी छ, पैसा पनि राम्रो छ भनेर उडायो तर त्यहाँ पुगेपछि भने जस्तो न काम पाइयो र पैसा नै।’

गाउँघरमा साहु ऋण गरेर विदेश पुगेपछि भने अनुसारको काम पाइएन भनेर फर्किन नमिल्ने बताउँदै वलीले धेरै नेपाली दलालको चंगुलमा फसेकाले दु:ख पाइरहेको बताए।

कालिमाटी गाउँपालिका ५ कै टोपबहादुर खड्काले वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा दुख पाएको बताए। वैदेशिक रोजगारीमा जानु भन्दा पहिले स्वदेशमै आवश्यक सीप सिक्न सकेमा ठगिनबाट बच्न सकिने बताए।

उनले भने, ‘विदेशमा गए पैसा कमाइ हालिन्छ भन्ने धेरैको सोच रहेको पाउँछु। विदेशमा पैसा कमाउन सोचे जस्तो सजिलो छैन। आफ्नो हातमा कुनै सीप नभए त झनै गाह्रो छ।’

स्थानीयस्तरमा रोजगारीको सम्भाव्यता अध्ययन गरी स्वरोजगार बन्न सके वैदेशिक रोजगारीमा जानु नपर्ने कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए।

उनले भने, ‘स्थानीय सरकारले पनि उद्यम गर्ने व्यक्तिलाई लगानी गर्दै आइरहेको छ।’

विश्व प्रविधिले गर्दा विश्व सानो गाउँमा परिणत भएकाले वैदेशिक रोजगारीमा जार्नै पर्ने भए आवश्यक ज्ञान सीप र जानकारी लिएर मात्र जान खत्रीले आग्रह गरे।

– सल्यान खबर डेस्क

प्रकाशित मिति: २०२२-०५-०६ , समय : १४:२५:५९ , २ वर्ष अगाडि