नेप्सेले अनलाइनबाटै शेयर किनबेच गर्न सिकाउने, सिम्युलेसन सफ्टवेयर निर्माण गर्दै, के हो सिम्युलेसन सफ्टवेयर?

Salyan Paribesh , १०४७  पटक हेरिएको

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार नेपालमा १२ लाख भन्दा बढी लगानीकर्ताले शेयर किनबेच गर्न भन्दै अनलाइन खाता खोलेका छन्।

तर खाता खोलेका सबै लगानीकर्ताले आँफैले अनलाइन शेयर किनबेच भने गर्दैनन्। तर उनीहरूको अनलाइन खाताबाट शेयर कारोबार हुन्छ। खासगरी उनीहरूको नाममा खाता भएपनि उनीहरूको खाताबाट आफ्नै परिवारका सदस्यकाे अनुमति पश्चात् ब्रोकर कम्पनीहरूले कारोबारमा सहयोग गर्छन्। जसले गर्दा उनीहरूले आँफैले अनलाइन मार्फत शेयर कारोबार गरेको देखिएको हो।

आज पनि शेयर किनबेच गर्नकै लागि ब्रोकर कार्यालय धाउने लगानीकर्ताको कमी छैन। अझै पनि नेपालमा अफलाइन कारोबार हुन्छ। ब्रोकर कम्पनीलाई खरिद बिक्री आदेश दिएर हुने कारोबारलाई अफलाइन कारोबार भन्ने गरिन्छ। लगानीकर्ता आफैले किनबेच नगरेर लगानीकर्ताको आदेश बमोजिम ब्रोकर कम्पनीले कारोबार गरिदिने भएकोले यसलाई अफलाइन कारोबार भन्ने गरिएको हो।

अफलाइन कारोबार गर्नुमा लगानीकर्ताका आआफ्नै बाध्यता हुन्छन्। अनलाइन शेयर कारोबार गर्नको लागि तयार गरिएको टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम)संवेदनशील भएकोले पनि केही लगानीकर्ता यसलाई आफै चलाउने आँट गर्दैनन्। टिएमएसमा सिक्ने भन्दा पनि सोझै कारोबार नै हुने भएकोले त्यति ठुलो जोखिम उठाउन लगानीकर्ता चाहँदैनन्। कोही भाषागत कठिनाइका कारण चलाउँदैनन् भने कोही अभ्यस्त नभएकोले पनि आँफै चलाउँदैनन्।

हुन पनि हो, कहिल्यै शेयर कारोबार नगरेको मानिसलाई शेयर किनबेच गर्ने टिएमएस चलाउन त्यत्ति सजिलो छैन। केही दिनको जानकारी वा अभ्यासपछि मात्रै लगानीकर्ता टिएमएस चलाउन अभ्यस्त हुन्छन्। अहिले जति पनि लगानीकर्ताले टिएमएस चलाएका छन्। उनीहरूले पनि कारोबार गर्दागर्दै  चलाउन जानेका हुन्। फेरि टिएमएस चलाउन सिक्ने अर्को विकल्प पनि छैन। शेयर कारोबार गर्न चाहनेले चाहेर वा नचाहेर जसरी पनि शेयर किनबेच गर्दै सिक्नुपर्ने बाध्यता छ। यही बाध्यताले गर्दा नयाँ लगानीकर्तालाई बजारमा आउन सजिलो छैन। त्यही भएर पनि प्राथमिक बजारमा ५१ लाख लगानीकर्ता हुँदा, त्यही दोस्रो बजारमा भने १२ लाख मात्रै लगानीकर्ता छन्।

यिनै समस्याहरूलाई दृष्टिगत नेप्सेले सिम्युलेसन सफ्टवेयर निमार्णको योजना अघि सारेको छ। जुन शेयर बजारमा कारोबार गरिरहेका र गर्न चाहने दुबैको लागि सहयोगी हुने बताइएको छ। “शेयर बजारमा कारोबार गरिरहेका र विशेषगरी शेयर बजारमा कारोबार गर्न चाहनेहरुको लागि हामी सिम्युलेसन सफ्टवेयर निमार्ण गर्दैछौ। जसको प्रयोगले कारोबार गर्न जान्ने र नजान्ने दुबै खाले लगानीकर्तालाई सघाउने छ। खासगरी नयाँ लगानीकर्ताका लागि सिम्युलेसन सबैभन्दा बढी सहयोगी हुने छ” नेप्सेका एक उच्च अधिकारीले भने।

उक्त सफ्टवेयरको प्रयोगले दोस्रो बजारमा पोख्त बनाउने नै छ। त्यसका अतिरिक्त दोस्रो बजारमा लगानीकर्ताको संख्या समेत बढाउन सघाउने आँकलन नेप्सेको छ। नेप्सेले निर्माण गर्न लागेको सफ्टवेयरमा लगानीकर्ताले नेपाली कम्पनीहरू पाउनेछन् भने नेप्सेमा चलिरहेको रियल टाइम कारोबार समेत जोडिने भएकोले लगानीकर्ताले वास्तविक समयकै मूल्यका आधारमा कारोबार गर्न पाउने छन्। जसले लगानीकर्तालाई वास्तविक समयमा नै लिने निर्णयले के कस्तो असर गर्छ भन्ने जानकारी लिन सहयोगी हुने बताइएको छ।

के हो स्टक मार्केट सिम्युलेसन सफ्टवेयर ?

सिम्युलेसन भन्ने शब्द अङ्ग्रेजी शब्दकोशबाट लिइएको हो। जसको नेपाली अर्थ हुन्छ नक्कल गर्नु। नक्कल भन्ने बित्तिकै त्यसैले प्रस्ट्याउँछ कि यो वास्तविक होइन। यो नक्कल मात्रै हो। जसले वास्तविकतामा कुनै अर्थ राख्दैन। शेयर बजारमा कारोबार गर्ने टिएमएस जस्तै काम गर्ने सफ्टवेयरलाई सिम्युलेसन स्टक सफ्टवेयर भन्न सकिन्छ। टिएमएसमा भए जस्तै सुविधा उक्त सफ्टवेयरमा पनि हुन्छन्। शेयर किन्नेदेखि बेच्नेसम्मको काम उक्त सफ्टवेयरमा गर्न सकिन्छ। शेयर बजारमा भइरहेको कारोबारको आधारमै उक्त सफ्टवेयरमा शेयर किनबेच गर्न सकिन्छ। तर उक्त किनबेच भने असली हुँदैन।  कारोबार नक्कली भएपनि उक्त सफ्टवेयरमा हुने कारोबारबाट आफूले शेयर किनबेच गर्दा लिएका निर्णय कति ठिक भए वा कति बेठिक भए भन्ने जान्न लगानीकर्तालाई सहयोग पुर्याउँछ। जसमा जति कुशलताका साथ कारोबार गर्दै गयो उक्त कारोबारको अभ्यास लगानीकर्ताले वास्तविक कारोबारमा समेत प्रयोग गर्न सक्छन्। जसले लगानीकर्तालाई शेयर किनबेच गर्ने कौशल विकासमा निक्कै ठुलो सहयोग हुन सक्छ।

विश्व बजारमा त्यस्ता खालका थुप्रै सिम्युलेसनहरू प्रचलनमा छन्।स्टक मार्केट सिम्युलेसन अनलाइन उपकरणले लगानीकर्ताहरूलाई वास्तविक पैसा लगानी नगरी उनीहरूको स्टक-छनोट कौशल अभ्यास गर्न अनुमति दिन्छ। जसमा लगानीकर्ताहरूले लगइन गर्नुपर्छ, लगइन गरेपछि खाता खोल्नु पर्छ। त्यसपछि नक्कली लगानी गर्नको लागि सिम्युलेसन पैसा लोड गर्नुपर्छ। खासगरी नयाँ लगानीकर्ताहरूका लागि,स्टक सिम्युलेसनहरू लगानी गर्ने सीपको विकास गर्ने उत्कृष्ट माध्यम हो। अनुभवी लगानीकर्ताहरूले समेत वास्तविक बजारमा लगानी गर्नु अघि व्यापारिक रणनीतिहरूको मूल्याङ्कन गर्न सिम्युलेसनहरू प्रयोग गर्छन्।

सबैभन्दा राम्रो सिम्युलेसनले इक्विटी ट्रेडहरू, अप्सन ट्रेडहरू, लङ टर्म र सर्ट टर्म बिक्रीको सुविधा दिन्छ। अनलाइन ब्रोकरेज खाताहरू जस्तै, सिम्युलेसनले हकप्रद समायोजनदेखि लाभांश र मर्जरहरूको समेत समायोजन गर्छन्।

मेराेलगानीकाे भर्चुअल ट्रेडिङ

केही अनलाइन साइटहरूले स्टक बजार सिम्युलेसन प्रतियोगिताहरू चलाउँछन्। जसले खेलाडीहरूलाई वास्तविक पैसा जित्ने अवसर समेत दिन्छ। जुन प्रतियोगिता नेपालमा मेरो लगानीले समेत बेला बेलमा आयोजना गर्ने गर्छ। खासगरि मेरोलगानीले भर्चुअल स्टक ट्रेडिङ शीर्षकमा उक्त प्रतियोगिता गर्ने गरेको छ। यी प्रतिस्पर्धाहरू अन्य लगानीकर्ताहरूको विरुद्धमा तपाईकाे रणनीति प्रमाणित गर्ने प्लेटफर्म हुन सक्छन्। जसको लागि लगानीकर्ताले मेरोलगानीको वेबसाइट लगइन गरेपछि ड्यासबोर्ड क्लिक गर्नुपर्छ। तर मेरोलगानीको सदस्य भएका लगानीकर्ताले मात्रै उक्त सुविधा पाउँछन्। जसले उक्त सुविधा लिएका छन्। उनीहरूले भर्चुअल ट्रेडिङ फिचर मार्फत उक्त कारोबार गर्न सक्छन्।

 

प्रकाशित मिति: २०२२-०५-०९ , समय : ०६:०३:५६ , १ वर्ष अगाडि