ठूलो सपनाको दौडमा स्यानी

Salyan Paribesh , ५०६  पटक हेरिएको

समाजसेवाको बाटोमा हिँडेकी उनी राजनीतिबाट समाज बदल्न चाहन्छिन्

दुर्गालाल केसी

दाङ — सानो झोला अनि कुर्ता–सुरुवालको पहिरन । हेर्दा नामजस्तै सानी देखिने स्यानी चौधरी ठूलो सपनाको दौडमा छन् । ३० वर्ष सामाजिक क्षेत्रमा बिताएकी स्यानी राजनीतिको बाटो पछ्याउँदै निर्वाचनमा होमिएकी छन् ।

दाङको तुलसीपुर उपमहानगरकी उम्मेदवार स्यानी चौधरी बालबालिकासँग । तस्बिर : कान्तिपुर

उनी नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार भएकी छन् । विभिन्न देशमा पुगेर सामाजिक कार्य, सुशासन, महिला अधिकार, बाल अधिकारलगायतका विषयमा अध्ययन गरेकी स्यानी पछिल्लो समय असहाय बालबालिकाको संरक्षणमा क्रियाशील थिइन् । उनले तुलसीपुरमा दिदी घर संस्था सञ्चालन गरी २४ जना असहाय बालबालिकाको स्याहार र संरक्षण गर्दै आएकी छन् ।

बालबालिकाको भविष्य बदल्न क्रियाशील रहेकी स्यानी अब समाजको भविष्य बदल्न राजनीतिमा आएको बताउँछिन् । ‘म तीन दशक समाज सेवामा क्रियाशील रहें । पछिल्लो समय असहाय बालबालिकाको आमा बनेर काम गरिरहेकी छु,’ उनले भनिन्, ‘अब नीतिगत तहमै पुगेर समाज बदल्ने ठूलो सपना छ । यही रहरका साथ राजनीति र निर्वाचनमा होमिएकी छु ।’

आफ्नै सुरमा बालबालिकाको स्याहार सम्भारमा व्यस्त रहेकी स्यानी एकाएक राजनीतिक सतहमा उदाएकी छन् । स्यानीसँग शिक्षा, ज्ञान, अनुभव र योजना भने प्रशस्तै छन् । तुलसीपुर–१३ तुईखोलामा ०२९ वैशाखमा जन्मेकी स्यानी घरकी कान्छी छोरी हुन् । उनका तीन दाइ र दुई दिदी छन् । घरमा उनी मात्रै विद्यालयमा पाइला टेकेर उच्च शिक्षासम्म अध्ययन गर्न पाउने सदस्य हुन् ।

बुबा खुसीराम र आमा सरदनी निरक्षर किसान थिए । उनीहरूको छोरी पढाउने सपना थिएन तर स्यानी सानैदेखि जिज्ञासु र रचनात्मक थिइन् । अधिकांश थारु छोरीहरू कमलरी बस्ने समाजमा उनी जबर्जस्ती विद्यालय पुगेकी थिइन् । ‘त्यो समयमा छोरीहरूलाई स्कुल पठाउने चलन नै थिएन । थारु समुदायमा त झन् अचम्म मानिन्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो बेला पनि म जिद्दी गरेर गाउँकै स्कुलमा पढ्न गएकी थिएँ ।’ उनले गाउँकै विद्यालयमा प्राथमिक शिक्षा लिएपछि तुलसीपुरकै मावि उरहरीबाट ०४७ सालमा एसएलसी पास गरिन् ।

एसएलसी सकेपछि उनी तुलसीपुरको क्रियाशील संस्था व्याकवार्ड सोसाइटी एजुकेसन (बेस)मा काम गर्न थालिन् । त्यसक्रममा उनले दाङका साथै बाँके, बर्दियाका गाउँगाउँमा पुगेर शिक्षाको ज्योति फैलाउने काम गरिन् । ०५१ सालमा छात्रवृत्तिमा नाम निकालेर अध्ययन गर्न जापान गइन् ।

उनले अन्य विभिन्न देशमा पुगेर अध्ययन, अनुसन्धानका काम गरिन् । विदेश बसाइका क्रममा कमाएको पैसाले तुलसीपुरमा जग्गा किनिन्, घर बनाइन् । अहिले त्यही घरमा दिदी घर चलाएर असहाय बालबालिकाको संरक्षण गरिरहेकी छन् । उनले राजनीति शास्त्रमा बीए र समाजशास्त्रमा एमए पढेकी छन् । उनले ०६० सालमा आफ्नै घरमा दिदी घर स्थापना गरेर बुबाआमा नभएका अनाथ तथा असहाय बालबालिकालाई शिक्षा र आश्रय दिंदै आएकी छन् ।

समाजसेवाको बाटोमा

हिंड्दाहिंड्दै उनले आफ्नो व्यक्तिगत जीवनका सबै खुसी त्यागेकी छन् । आफूले बच्चाबच्ची जन्माउने बाटो नरोजे पनि अन्य दर्जनौं बालबालिकाको आमा बनेकी छन् । अब जनप्रतिनिधि भएपछि तुलसीपुरको शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र किसानको जीवनमा परिवर्तन ल्याउने उनको योजना छ । ‘सबैलाई सक्षम नागरिक बनाउन गुणस्तरीय शिक्षा र निःशुल्क शिक्षाको आवश्यकता छ,’ उनले भनिन्, ‘हरेक बालबालिकाले निःशुल्क र गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउन स्थानीय तह जिम्मेवार बन्नुपर्छ ।’

समाजमा अझै पनि महिला र पछाडि पारिएको वर्गले शिक्ष, स्वास्थ्यमा सहजै पहुँच पाउन नसकेको उनले बताइन् । ‘घरनजिकै हरेकले शिक्षा पाउने र बिरामी पर्दा सजिलै उपचार पाउने अवस्था बनाउनुपर्ने छ,’ उनले भनिन्, ‘मेरो तुलसीपुरलाई रहरलाग्दो सहर बनाउने सपना छ । यही अग्लो सपना बोकेर म निर्वाचनको बाटोमा हाम फालेकी छु ।’

प्रकाशित मिति: २०२२-०५-०९ , समय : ०६:२३:०९ , ९ महिना अगाडि