पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

Salyan Paribesh , ६४८  पटक हेरिएको

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले थपलियाले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

स्थानीय तहको शुक्रबार हुने निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन थपलियाले अपिल गरेका हुन् । ‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्नेभएको हुँदा,’ उनले अपिल गरे, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’

स्थानीय तह निर्वाचनका सरोकारवाला सबैलाई आग्रह गर्दै थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन आग्रह गरे । उनले थपे, ‘कसैको प्रलोलभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी, सही तरिकाले निर्धक्क मतदान गर्नुहुन र मतदान प्रक्रियालाई सफल बनाउन आग्रह गर्दछु ।’

मतदानको अघिल्लो दिन १८ वर्ष पुग्ने सबै नागरिकलाई मतदानको अधिकार भएको ऐतिहासिक पहिलो निर्वाचन भएको भन्दै थपलियाले मतदाता नामावलीमा नाम रहेकाले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रमध्ये एक भएमा मतदानमा सहभागी हुन पाउने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटीका मतगणना केन्द्रमा जम्मा गरेर तत्काल गणना कार्य सुरु गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०५-१२ , समय : १३:२८:२५ , १ वर्ष अगाडि