Salyan Paribesh , ३५० पटक हेरिएको

विराटनगर — मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मोरङको रंगेली नगरपालिकाको मतगणना दुई दिनदेखि ठप्प छ । वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद सुरु हुँदा गणना रोकिएको हो ।
मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो । यस विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कास्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गरेका छन् । त्यसमा कोन्द्रीय अनुगमन समितिका संयोजक दीर्घराज मैनालीको पनि सम्मिलित छन् ।
खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको देखिएको तर कम्प्यूटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले बताए । ‘प्रत्येक सय मतपत्र गणना गरेर कम्प्यूटर इन्ट्री गरिन्छ । त्यसैक्रममा सय मतपत्रको दोहोरो इन्ट्री भएको पाइयो । गणना गर्न बाँकी रहेका मतपत्र गन्दा ८ वटा बढी पाइयो,’ उनले भने ।
त्यसलाई सर्वदलीय बैठकमा गठबन्ध दलका प्रतिनिधिले स्वीकार नगरेर पुन: मतदातनको माग गर्दै हिँडेपछि समस्या भएको काफ्लेको भनाइ छ । सर्वदलीय बैठकमा गठबन्धन दलका प्रतिनिधिले कम्प्यूटर इन्ट्री हेर्न र बाँकी रहेका मतपत्र गणना गर्नै नमानेपछि थप समस्या भएको हो ।
काफ्लेका अनुसार पाँच दलले पुन: मतदान गर्नुपर्ने अडान राखेपछि गणना हुन सकेको छैन । आयोगले तथ्याङक अभिलेख हेरेर मिलाउन, दलका प्रतिनिधि नआए पनि मतगणना सुरु गर्न र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सुरक्षा व्यवस्था गर्न निर्देशन दिएको उल्लेख गर्दै काफ्लेले भने, ‘अनुसन्धान समितिको सुझावपछि आयोगको निर्देशन अनुसार गणना गर्ने तयारी गरेको छु ।’
यसअघि मतपेटिका राखेकै ठाउँमा वडा ८ को मतपेटिका फुटेको विवादमा सुरुआती दुई दिनपछि दुई दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर त्यो विवाद मिलाएपछि मतगणना सुरु भएको थियो ।
रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ । ती सबै वडामा एमालेले प्यानल नै जितेको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मतगणना भइसक्दा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाएका छन् ।
गठबन्धन दल गणना छाडेर प्रर्दशन सुरु गरेपछि रंगेलीमा दोहोरो झडपसमेत हुँदै आएको छ । त्यसक्रममा केही प्रर्दशनकारी घाइतेसमेत भएका छन् । शनिबार पनि गठबन्धन दलले पुन: मतदानको माग गर्दै रंगेलीमा प्रदर्शन गरिरहेका छन् । अहिले मतगणनास्थल जनता क्याम्पस रंगेलीमा एमाले बाहेकका कुनै पनि दलका कार्यकर्ता र प्रतिनिधि छैनन् । त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति: २०२२-०५-२१ , समय : ११:४४:४३ , १ वर्ष अगाडि