नीति तथा कार्यक्रम : विज्ञान नीति एकातिर, नीति तथा कार्यक्रम अर्कोतिर

Salyan Paribesh , ६०३  पटक हेरिएको

राज्यको नीतिभन्दा पनि मन्त्रालयको वार्षिक कार्यक्रम जस्तो : नेपाली वैज्ञानिक

गोविन्द पोखरेल

काठमाडौँ — नेपाल सरकारको वैज्ञानिक अनुसन्धान प्रविधिको आविष्कार,उन्नयन र विकास एवं बौद्धिक प्रतिभाहरुको संरक्षण गर्ने, वैज्ञानिक अनुसन्धानको समूचित उपयोग गरी मुलुकको आर्थिक रुपान्तरण गर्न, संघीयताअनुरुप वैज्ञानिक अनुसन्धानमूलक निकायहरुको सवलीकरण र प्रादेशिक सन्तुलन हुने गरी प्रविधि विकास, वैज्ञानिक अनुसन्धानबाट विकास गरिएका नविनतम् र अत्याधुनिक प्रविधिकिो उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्न र प्राथमिकताको क्षेत्रहरुमा ज्ञानमा आधारित उद्यमशिलताको विकास गर्न र परिणाममुखी बनाउन भन्दै राष्ट्रिय विज्ञान तथा प्रविधि नीति, २०७६ ल्यायो ।

नीतिमा वैज्ञानिक संस्कारको विकास र अनुसन्धानमुखी शिक्षा प्रणालीलाई प्रोत्साह गर्दै दक्ष एवं विज्ञ वैज्ञानिक र प्राविधिक जनशक्ति विकास गर्ने पनि भनिएको छ ।

विज्ञान तथा प्रविधि नीतिले कूल ग्रार्हस्थ उत्पादनको १ प्रतिशत बजेट यो क्षेत्रमा छुट्टयाइने लक्ष्य राखेको छ । राष्ट्रिय विज्ञान तथा प्रविधि कोषको स्थापना गर्ने विषयहरु नीतिमा समावेश छन् ।

तर, सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा यी विषयले प्रथामिकतामा पाउन सकेनन् । कुल १४५ बुँदाको नीति तथा कार्यक्रममा विज्ञानलाई २ वटा बुँदामै सिमित गरिएको छ । ६५ पृष्ठको नीति तथा कार्यक्रममा ‘विज्ञान’ शब्द ६ ठाउँमा मात्रै अटाएको छ । तर ती शब्द पनि औपचारिकताका लागि मात्रै राखिएको नेपाली वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिक दिनेशराज भुजु सरकारले ल्याएको नीति तथा कार्यक्रममा ‘विज्ञान र वैज्ञानिक’ शब्द औपचारिकता लागि मात्रै राख्न खोजिएको बताए । ‘जुन ढंगले शब्दावली प्रयोग भएको छ, त्यो शब्दावली औपचारिकताका लागि मात्रै राख्न खोजियो,’ उनले भुजुले भने, ‘७० नम्बर बुँदामा सहरहरुमा उत्सर्जित फोहोरको वैज्ञानिक व्यवस्थापन भनिएको छ । फोहोर मैलाको व्यवस्थापन पनि वैज्ञानिक र अवैज्ञानिक भन्ने हुन्छ ? व्यवस्थापन आफैंमा प्रभावकारी हुन्छ । वैज्ञानिक ढंगले सोच्ने, विज्ञान सम्मत निर्णयहरु लिने हो नि । शब्दको प्रयोग औपचारिकताका लािग मात्रै छ । कुनै गाम्भिरता देखिएन । ’ उनले विज्ञान नीतिलाई टेकेर सरकारको नीति तथा कार्यक्रम नल्याएको बताउँदै यस वर्ष पनि विज्ञान उपेक्षित गरिएको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) ले पनि सरकारलै ल्याएको नीतिप्रति असुन्तुष्ट जनाएको छ । नास्टका प्रविधि संकाय प्रमुख डाक्टर रविन्द्र ढकाल नीति तथा कार्यक्रमले विज्ञानलाई नछोएको बताए । शाब्दिक हिसाबले मात्रै विज्ञानलाई जोडिएको उनको भनाइ । नीति तथा कार्यक्रममा नेपालले विज्ञान र अनुसन्धानमा गर्नुपर्ने राष्ट्रिय एजेन्डा र उद्देश्यहरु समावेश नभएको बताए । नीति तथा कार्यक्रममा कुन मन्त्रालयमा के काम हुँदैछ भन्ने जानकारी मात्रै आएको उनको भनाइ थियो ।

‘विज्ञान तथा प्रविधिलाई केन्द्रमा राखिने कुराहरु उल्लेख छैनन् । विज्ञान तथा प्रविधिलाई नयाँ कुरासँगै परिमार्जन गर्ने, परनिर्भता हटाउने र नयाँ ल्याउने सोच देखिएन,’ उनले भने, ‘विज्ञान र अनुसन्धानमा जनशक्तिको विकासको सवाल पनि नीतिमा आएन ।’

नीति तथा कार्यक्रम पुरै राज्यको नभएर मन्त्रालय विशेषको भएको उनको भनाइ छ । ‘यो मन्त्रालयमा यो यो हुँदो रहेछ भन्ने गतिविधि मात्रै आयो । विज्ञान तथा प्रविधिमा नेपालको नीति यो हो,कार्यक्रम यो हो भन्ने हिसाबले कार्यक्रमहरु आएनन्,’ उनले भने ।

त्यस्तै विज्ञानको आधारभूत विकास गर्ने, पृष्ठभूमि बनाउने विषय नीति तथा कार्यक्रममा समावेश नभएको नेपाली वैज्ञानिकहरुको भनाई छ । भाषागत रुपमा ग्रिन फ्युल, क्लिन इनर्जी जस्ता विषयहरु अटाए पनि कार्यान्वयन कस्तो रहन्छ भन्ने हेर्न बाँकी रहेको उनीहरुको भनाई छ । नीति तथा कार्यक्रमा समावेश गरिएका विज्ञान प्रविधिलाई विकासका सबै आयामहरुमा आबद्ध गर्दै लैजाने, विज्ञान प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा विकास गरिने, विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने संस्था र व्यक्तिलाई सम्मान गरिने, वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गरिने घोषणा पनि नयाँ नभएको नेपाली वैज्ञानिकहरुको भनाई छ । यस्तै, पारमाणविक स्रोत तथा प्रविधि खोज, अध्ययन एवं अनुसन्धानलाई सहज बनाउन रेडियोधर्मी पदार्थ र विकिरण सुरक्षा नियमनको व्यवस्थाप मिलाइने, विधि विज्ञान प्रयोगशालाको स्तरोन्नति एवं विस्तार, विपी प्लानेटेरियम साइन्स म्युजियमको स्तरोन्नति गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

वागमती प्रदेशको विज्ञान नीतिको मस्यौदा निर्माणमा संलग्न चिकित्सा शास्त्र अध्ययन संस्थानकी प्राडा दिन्ज्वला श्रेष्ठ विज्ञान र वैज्ञानिक लैख्दैमा विज्ञान नहुने बताइन् । केही विषयहरु समावेश हुनु सकारात्मक भए पनि सरकारले छुट्टयाउने बजेट हेरेर मात्रै थप टिप्पणी गर्न सकिने उनले बताइन् । ‘विज्ञानलाई अलि–अलि बोल्न खोजेको त देखिन्छ तर टेकेर कार्ययोजना बनाएर कार्यक्रमहरु गर्न सकिन्छ तर कति बजेट छुट्टयाइन्छ त्यसले विज्ञानप्रति सरकार गम्भीर छ कि छैन भन्ने प्रष्ट हुन्छ’ उनले भनिन् ।

 

प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०७:५१:०५ , १ वर्ष अगाडि