Salyan Paribesh , ९३५ पटक हेरिएको

विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएकाे सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण काम गर्न नसकिएको बहाना बनाएका छन् । प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले उक्त बहाना राखेका हुन् ।
समितिकाे बुधबारकाे बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झाले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस-युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेकाे बताए । ‘गत चैत १० सम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको छ । असार पहिलाे सातासम्म छपाइ सकिन्छ ।
त्यसकाे १ महिनाभित्र विद्यार्थीकाे हातहातमा पाठ्यपुस्तक पुर्याउने छाैं,’ उनले भने, ‘कागज समयमा ल्याउन काबुबाहिरकाे स्थितिले सकिएन । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कागजको अभाव थियाे । मतपत्र छाप्नुपर्दा पनि पाठ्यपुस्तक छाप्न सकिएन ।’
२ करोडमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेकाे झाले दाबी गरेका छन् । छापिएका पाठ्यपुस्तक जेठ ९ गतेदेखि देशभरका ९ वटा डिपाेबाट वितरण थालिएको उनको भनाइ थियाे । दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनले बताए ।

कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएकाे छ । त्याेमध्ये कक्षा ५, ६ र ८ काे पाठ्यपुस्तक अभाव देखिएकाे छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गरेका छैनन् ।
प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०७:५३:३६ , १ वर्ष अगाडि