भावीले लेखेको मेटेर मेटिदैन

Salyan Paribesh , २७३  पटक हेरिएको

सम्भाव्य पाण्डे

कक्षा ४

एकादेशमा एउटा  गाउँ थियो। त्यो गाउँमा दुइजना बुढाबुढी बस्थे। उनीहरूका कुनै सन्तान थिएनन्। उनीहरू दुःखी थिए। त्यही गाउँमा भाँडा बेच्ने बाँडा पनि सधैँ भरिया लिएर भाँडा बेच्न आउँथ्यो। अनि त्यही बुढाबुढीको घरमा बास मागेर बस्थ्यो। ती दम्पती गरिब भए पनि मनका धनी थिए। त्यसैले उनीहरूले बास दिन्थे।

भाँडा बच्ने साँहु र भरिया महिनामा एकपटक त्यो गाउँमा भाँडा बच्ने आइपुग्थे  यसरी दिन बित्दै गइरहेको  थियो। धेरै वर्षपछि  ती बुढाबुढीको घरमा पनि एउटा बच्चाको जन्म भयो। उनीहरू धेरै खुशी भए। उनीहरूको छोरा जन्मेको ६ दिन भएको थियो। त्यो दिन बच्चाको छैँठी थियो। उनीहरू मख्ख  थिए।

छैँठीको दिन भावीले बच्चाको निधारमा उसको भाग्य कोर्ने दिन थियो। त्यस दिन पनि भाँडा बच्ने साहु र भरिया आइपुगे र उनीहरूले बास मागे। तर त्यो दिन ती बुढाबुढीले बास दिन मिल्दैन भने। अनि ती साँहु र भरियाले भने, ‘साँझ भैसक्यो हामी अब कहाँ जानु? जहिले पनि तपाईंहरूको घरमा बास बसिन्थ्यो।’

अनि ती बुढाबुढीले भने, ‘आज हाम्रो छोराको छैैँठी छ। भावीले भाग्य लेख्ने दिन हो। रातभरि बत्ती बालेर राख्नु पर्छ। ढोका खुल्लै राख्नु पर्छ। त्यही भएकाले आज बास दिन मिल्दैन।’

तर उनीहरूले जिद्दी गरे, ‘हामीलाई घरको पिँढीमै भए पनि बास दिनुहोस्।’

त्यसपछि  बुढाबुढीले केही सीप नलागेर बास दिए।

सबैजान खाना खाएर सुते। त्यो साहुलाई भने निन्द्रा लागेन। उसको मनमा त्यो भावी कस्तो हुन्छ, बच्चाको निधारमा के लेख्छ भन्ने कुरा खेलिरह्यो। अरू सबै मस्त निन्द्रामा थिए। रातमा भावी त्यो घरमा आइपुग्यो। साहुले को हो भनेर सोधे। भावीले भन्यो, ‘म भावी हुँ। म बच्चाको भाग्य लेख्न आएको।’

तर साहुले भावीलाई भित्र जानै दिएन। उसले ‘म पनि हजुरसँग जान्छु र हेर्छु’ भन्दै ढोका छेकेर बस्यो। अनि भावीलाई अब के गर्ने होला? यसलाई लिएर जान त मिल्दैन भन्ने लाग्यो। अनि उनले भने, ‘म बच्चाको निधारमा भाग्य लेखेर आएपछि तिमीलाई भन्ने छु।’

तर साहुले भने, ‘म त जानै दिन्न।’

उनले ढिपि गर्न लागे। अनि भावीले भने, ‘म तिमीलाई वचन दिन्छु। म बाहिर आएर भन्नेछु।’

त्यसपछि मात्र उसले भावीलाई भित्र जान दिए। अनि साहु ढोका बाहिर भावी कुरेर बसिरहे। एकछिन पछि भावी बाहिर आए। के लेखेर आए भन्ने कुरा थाहा पाउन साहुलाई हतार भएको थियो।

उनले सोधे, ‘हजुरले बच्चाको भाग्यमा के लेख्नुभयो?’

भावीले भने, ‘मैले तिम्रो सम्पत्ति सबै यसले खानेछ भनेर लेखिदिएको छु।’

त्यो कुरा सुनेर साहुलाई चिन्ता पर्यो। रात  बित्यो, बिहान भयो। साहुको मनमा कुराहरू खेलिरहे र त्यहाँबाट बिदा लिएर गए।

समय बित्दै गयो। यता ती दम्पतीको छोरा पाँच-छ वर्षको भयो। फेरि एकदिन त्यही भाँडा बच्ने साहु र भरिया उनीहरूको घरमा आएर बास मागेर बसे। खाना खाएर सबै सुते। तर साहुको मनमा भावीको कुरा आयो। उसले बुढाबुढीसँग बच्चा मागेर लैजाने विचार गर्यो।

बिहान भयो। उसले ती बुढाबुढीलाई भन्यो, ‘मलाई हजुरहरूको छोरा दिनुहोस। म यो बाबुलाई राम्रो शिक्षा दिन्छु। पछि यहीँ ल्याइदिनेछु।’

यो कुरा बुढाबुढीले मानेनन्। उसले धेरै सम्झायो। उनीहरू गरिब थिए। आफ्नो बच्चालाई राम्रो शिक्षादिक्षा दिन सकिन्छ कि भनेर बच्चाको राम्रो भविष्यको लागि आफ्नो मुटुमाथि ढुंगा राखेर उनीहरूले छोरा दिने निर्णय गरे। अनि दिएर पठाए। साहुले लिएर गयो। गाउँबाट पर अर्को गाउँको जंगल नजिकै बास बस्यो। बिहान सबैरै उठेर बच्चालाई जंगलमा छोडेर गयो।

बिहान बच्चा रोएको आवाज सुनेर मान्छेहरु जम्मा भए। ‘कसको बच्चा हो?’ भनेर हल्लाखल्ला भयो। त्यतिकैमा एकजनाले भन्यो, ‘यो बच्चा पल्लो गाउँका बुढाबुढीको हो। त्यही लिएर जाऊँ।’

सबैजनाले ती बुढाबुढीलाई गाली गरे, ‘बच्चा पाल्न नसक्ने भए किन पाएको?’

दिनहरू बित्दै गए। ती बुढाबुढीले आफ्नो छोरालाई जसरी-तसरी पढाए। ठूलो बनाए। उसको क्याम्पसको पढाइ पनि सकियो। ऊ २०-२२ वर्षको भयो। फेरि एक दिन त्यही साहु उनीहरूको घरमा आयो। तर ती बुढाबुढीले उसलाई चिनेनन्। साहुले ‘घरमा को-को हुनुहुन्छ?’ भनेर सोध्यो। ती बुढाबुढीले भने, ‘हामी छौँ।’

त्यतिकैमा एउटा केटा बाहिर आयो। त्यो साहुले सोध्यो, ‘को हो यो बाबु?’

‘हाम्रो छोरा हो,’ उनीहरूले जवाफ दिए।

त्यो साहु छक्क परे। आफूले जंगलमा छाडेको बच्चा कसरी बाच्यो भनेर। उसलाई चिन्ता पर्न थाल्यो। उनले अब यसलाई कसरी मार्ने भनेर सोच्न थाले। उनले भने, ‘म तपाईंहरूको छोरालाई जागिर दिन्छु। मसँग पठाउनुहोस्।’

उनीहरूले छोरालाई पठाए। साहुले छोरोलाई घरतिर लग्यो। बीच बाटोमा पुगेपछि भन्यो, ‘ऊ त्यो मेरो घर हो। तिमी जाँदै गर। मेरो एउटा काम छ, सकेर आउँछु।’ उसको दौराको तुनामा एउटा नोट पनि लेखेर बाँधिदिए, ‘यो चिठ्ठी मेरो घरमा लगेर मेरो कामदारलाई दिनु।’

त्यस चिठ्ठीमा यो केटालाई मारिदिनु भनेर लेखिएको थियो। केटालाई हिँड्दै जाँदा थकाइ लागेर चौतारामा बस्छ र त्यही निदाउँछ। त्यति बेला साहुकी छोरी पनि त्यही घुम्दै आइपुग्छिन्। उनलाई त्यो केटा राम्रो लाग्छ। मनमनै केटालाई मन पराउँछिन्। त्यसैबेला उनको आँखा केटाको दौराको तुनामा पुग्छ। के रहेछ भनेर बिस्तारै त्यो चिठ्ठी खोलेर हेर्छिन्। त्यो चिठ्ठी  देखेर छक्क पर्छिन्।

उनको दिमागमा एउटा कुरा आउँछ र चिठ्ठी बदलिदिन्छिन्। उनले लेख्छिन्, ‘मेरी छोरीसँग यस केटाको विवाह आजै धुमधामसँग गर्नुपर्छ। तुरून्त सबैकुरा ठिक्क पार्नु। म साँझसम्म आइपुग्छु।’

यति लेखेर उनी त्यहाँबाट जान्छिन्। त्यो केटा पनि साहुको घरमा पुग्छ र त्यो चिठ्ठी साहुको कामदारलाई दिन्छ। उनीहरूले हेर्छन र विवाहको तयारी गर्छन्। पण्डितले विवाह सुरू गर्छन् तर साहु आइपुग्दैनन्। कन्यादानको बेला हुन्छ। साइत जाने बेला भयो भनेर सबैले भन्छन् र आमाले नै कन्यादान गरिदिन्छिन्। त्यही बेलामा साहु टुप्लुक्क आइपुग्छन्। त्यो देखेर उनलाई तनाव हुन्छ। यो त ज्वाईं पो भयो। अब के गर्ने? जे भएपनि यसलाई मार्नैपर्छ भनेर अर्को उपाय सोच्न थाल्छ।

उसले पल्लो गाउँको एउटा गुण्डालाई भेटेर सबै कुरा गर्‍यो। ‘म  एउटा केटो पठाउँछु। त्यसलाई मारिदिनु,’ भनी सम्झायो। साथै, त्यो काम गरेबापत पैसा दिन्छु पनि भन्यो। त्यसले सोचेभन्दा धेरै पैसा पाउने लोभमा मार्ने निर्णय गर्यो। भोलिपल्ट बिहान साहुले ज्वाईंसाबलाई भने, ‘मेरो यो काम गरेर आउनु पल्लो गाउँ गएर। यो मान्छेलाई दिनु। उसले काम गरिदिन्छ।’

तर केही पर पुगेपछि साहुको छोरा भेट भयो। उसले सोध्यो, ‘भिनाजु हजुर कहाँ जान लाग्नु भएको?’

केटाले सबै कुरा सालोलाई भन्यो। सालोले भन्यो, ‘यति काम त म गरिहाल्छु नि। हजुर घर फर्कनुहोस्।’

सालो चिठी बोकेर पल्लो गाउँ गयो। भिनाजुचाहीँ घर फर्किए। उसलाई घरमा देखेर ससुराले सोधे, ‘के भयो? किन नगएको?’

अनि ज्वाईंले सबैकुरा भने। त्यो सुनेर साहु छाँगाबाट खसेजस्तो भए। अब छोरा मर्ने भयो भनी आत्तिँदै ऊ त्यहाँबाट पल्लो गाउँ पुग्दा उसको छोरा मारिइसकेको थियो। गुण्डालाई थाहा थिएन त्यो साहुको छोरा हो कि ज्वाईं। त्यसपछि साहु मुर्छा पर्‍यो। उसले पहिलाको भावीले भनेको कुरा सम्झियो। त्यसपछि उसलाई लाग्यो भावीले लेखेको कुरा केही गरे पनि मेटिदैन।

आफ्नो छोरा गुमाएर ऊ धेरै पछुतायो। आफ्नो सम्पत्ति केटाले खान्छ भनेर कति गर्यो। तर छोरा नै गुमाएपछि सम्पत्ति सबै ज्वाईंको भयो। भावीले लेखेको कुरा कसरी बद्ल्न सकिन्थ्यो र?

अन्तिममा साहुले पनि बुझ्यो कि भावीले लेखेको कुरा केही गरे पनि  मेटिदैन।

(सम्भाब्य पाण्डे डियरवाक सिफल सेकेन्डरी स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)

प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०८:२२:४१ , ८ महिना अगाडि