समाज सेवामा अग्रसर कपुरकोटका यी दुई दाजुभाई-यगराज वली र सन्तोष बुढाथोकीले पछिल्लो समय विभिन्न सामाजिक काम गर्ने घोषणा

Salyan Paribesh , १५९३  पटक हेरिएको

सल्यान, १२ जेठ ।
यगराज वली र सन्तोष बुढाथोकी कपुरकोटमात्र होइन्, समग्र सल्यानका लागि अपरिचित नाम होइन् । राजनीतिसंगै सफल उद्योगी व्यवसायीका रुपमा परिचित दुई दाजुभाई सामाजिक व्यक्तित्व पनि हुनुुहुन्छ । उहाँहरु दुवै जना व्यवसाय र राजनीतिसंगसंगै सामाजिक सेवामा पनि लाग्नुभएको छ । कपुरकोट गाउँपालिका निवासी दुई दाजुभाइले पछिल्लो समय विभिन्न सामाजिक काम गर्ने घोषणा समेत गर्नुभएको छ ।

दुई दाजुभाईले एसइईमा वर्ष उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षाका लागि रकम सहयोग गर्नेदेखि खेलुकद, कृषि र स्वास्थ्यको क्षेत्रमा विभिन्न प्रकारका सहयोग गर्ने प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । विभिन्न उद्योग तथा व्यवसायमा आवद्ध वली र बुढाथोकी दुई दाजुभाईले ति व्यवसायबाट आएको मुनाफाको करिब ३३ प्रतिशत रकम सामाजिक काममा लगाउने घोषणा गर्नुभएको हो ।

कपुरकोटमा पुन कन्ट्रक्सन एण्ड सप्लार्यस र पुन कन्ट्रक्सन प्रालि, रोल्पामा पुन ढुवानी सेवा, बाँकेमा लक्ष्मीनारायण स-मिल र लक्ष्मीनारायण रियलस्टेट, कपुरकोटमा होटेल श्रीस प्रालि र बर्दियामा शुभ स-मिल संचालन गरिरहनुभएका दुई दाजुभाईले कपुरकोटको आम नागरिकको हितका लागि विभिन्न सामाजिक काम गर्ने बताउनुभएको हो ।

जीवन रहेसम्म सामाजिक  हितका लागि निरन्तर लागिरहिरहने अठोटका साथ दुई दाजुभाइले  सामाजिक सेवामा कुनै प्रकारको राजनीति नहुने पनि बताउनुभएको छ । ‘राजनैतिक हिसावले हामी कुनै दलमा आस्था राखौँला तर हामीले घोषणा गरेको सामाजिक काममा कुनै प्रकारको राजनीति हुने छैन् ।’ व्यवसायी वलीले भन्नुभयो-‘हामीले गर्ने कार्यक्रममा कुनै पनि राजनीतिक सिफारिस नहुने कुरा अवगत गराउन चाहन्छु ।’

सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुई दाजुभाईले कपुरकोट गाउँपालिकामा प्रत्येक वर्ष एसइइमा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई उच्च शिक्षाका लागि ५० हजार सहयोग गर्ने, कक्षा १२ मा उत्कृष्ट अकं ल्याउने कपुरकोट गाउँपालिका भित्रका ५ जनालाई  आफ्नै उद्योगमा रोजगारी दिने लगायतका प्रतिवद्धता गर्नुभएको छ ।

यस्तै दैविक प्रकोपमा परेका अति विपन्न परिवारलाई जग्गा खरिद र घर बनाउनेदेखि परिवारका बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने, अनाथ बालबालिकालाई शिक्षाको लागि सहयोग गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै अबको एक वर्षभित्र आफैले एम्बुलेन्स खरिद गरी गाउँपालिकाका  अति विपन्न परिवारलाई निशुल्क एम्बुलेन्स सेवा दिने, प्रत्येक वर्ष जाडौ मौसममा कपुरकोट गाउँपालिकाका अति विपन्न १ सय जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने दुई दाजुभाइले प्रतिवद्धता बताउनुभएको छ ।

यसैगरी कपुरकोट गाउपालिका भित्रका अति विपन्न परिवारलाई कृषिमा प्रोत्साहन गरी आयआर्जनमा सहयोग पुर्‍याउन वार्षिक रुपमा १० परिवारलाई बिउबिजनको व्यवस्था गर्ने, गाउँपालिका भित्रका अति विपन्न २ जनालाई प्रत्येक महिना औषधि उपचार गरिने उल्लेख गरिएको छ ।

यस्तै खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष कपुरकोट गाउँपालिकाभित्रका १ सय जना खेलाडीलाई डे्रस र खेलकुद सामाग्रि वितरण गर्ने घोषणा गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि कपुरकोट गाउँपालिकाका आम नागरिकलाई दुई दाजुभाईले सहयोग गर्न हार्दिक अपिल पनि गर्नुभएको छ । ‘हामीले सामाजको लागि काम गर्दैछौँ, सामाजको साथ हामीलाई आवश्यक छ ।’ व्यवसायी बुढाथोकीले भन्नुभयो-‘ यस काममा कुनै प्रकारको राजनीति हुनेछैन् ।’

प्रकाशित मिति: २०२२-०५-२६ , समय : ०९:१२:२० , २ वर्ष अगाडि