जिल्ला समन्वय समितिका लागि सल्यानमा कुनै दलको बहुमत पुगेन

Salyan Paribesh , ५८८  पटक हेरिएको

 हिमाल शर्मा 

 

स्थानीय तहको नतिजा आएसँगै सल्यानमा जिल्ला समन्वय समिति गठन हुने छ । सल्यानमा दस स्थानीय तह रहेका छन् । जिल्लामा रहेका स्थानीय तहका प्रमुख, अध्यक्ष र उपप्रमुख उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ । त्यसले जिल्ला समन्वय समितिको मतदान गर्न पाउने मत भार २० हुन आउँछ ।

तर स्थानीय तहको परिणामले कुनै पनि दलले जिल्ला समन्वयको नेतृत्वका लागि एकल बहुमत ल्याउन  सकेनन् । जसका कारण गठबन्धन गर्नु पर्ने भएको छ ।

नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ६, नेकपा एमाले ५ र एकीकृत समाजवादीको  १ मत रहेको छ । यसरी सल्यानमा समन्वय समिति गठन गर्न दुई दलले गठबन्धन गर्न आवश्यक छ ।

नेपाली कांग्रेसले शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष दुवै सेट जितेको छ । यस्तै वनगाड कुपिण्डे नगरपालिकामा  उप–प्रमुख,बागचौर नगरपालिकामा प्रमुख,कुमाख गाउँपालिका  र सिद्ध कुमाख गाउँपालिकामा अध्यक्ष जितेको छ ।

नेकपा एमाले छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष दुवै सेट जितेको छ भने कुमाख गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले भने दार्मा गाउँपालिकामा मात्र अध्यक्ष उपाध्यक्ष दुवै सेट जितेको छ ।

माओवादीले वनगाड कुपिण्डे नगरपालिकामा प्रमुख,बागचौर नगरपालिकामा उप–प्रमुख, सिद्ध कुमाख गाउँपालिकामा  उपाध्यक्ष र कपुरकोट गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समिति गठन गर्न सल्यानमा नेकपा एमाले निर्णायक देखिएको छ ।

केन्द्रको गठबन्धनलाई आत्मसाथ गरेमा नेपाली कांग्रेस नेकपा माओवादी र एकीकृत समाजवादीले सहकार्य गरेर समन्वय समिति गठन गर्ने छन् । तर केन्द्रको समीकरणलाई नमान्ने हो भने जिल्लमा नेकपा एमाले निर्णायक देखिएको छ । नेकपा एमालेलाई जसले साथमा  लिन सक्यो त्यसैको समन्वय हुने पक्का रहेको छ ।

२०७४ सालको निर्वाचनमा सल्यान जिल्लामा कांग्रेसले निर्विरोध रुपमा प्रमुख लगेको थियो भने नेकपा एमाले र नेकपा माओवादी केन्दले उपप्रमुखमा प्रतिस्पर्धा गरेको थियो । जसमा माओवादी केन्द्रले एमालेका उपप्रमुखका उम्मेदवारलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: २०२२-०५-२६ , समय : ०९:३६:२३ , ८ महिना अगाडि