Salyan Paribesh , ११२९ पटक हेरिएको

काठमाडौं । नुवाकोटकी विमला सुनारले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट शल्यक्रियामार्फत बच्चा जन्माइन् । सुत्केरी भएको केही समयपछि शल्यक्रिया गरेको घाउ सहनै नसक्ने गरी दुख्न थाल्यो । घाउबाट पिप निस्कियो । उनी तुरुन्तै अस्पताल गइन्, घाउमा संक्रमण भइसकेको रहेछ ।
यतिबेला उनी उपचार गराइरहेकी छन् । शल्यक्रिया गराउने क्रममा हुने कतिपय त्रुटिले संक्रमणको जोखिम बढाउने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् । ‘शल्यक्रिया गर्ने क्रममा भएका कतिपय कमजोरीले गर्दा संक्रमण हुनसक्छ,’ डा. शाह भन्छन्, ‘त्यसमा प्रयोग गरिएको औजार, पञ्जा पूर्ण सफा अनि सुरक्षित हुनुपर्छ ।’
राम्ररी शल्यक्रिया भएको अवस्थामा उक्त घाउ निको हुन सातदेखि १० दिनसम्म लाग्छ । यद्यपि त्यसमा फोहोर भयो वा अन्य त्रुटि भयो भने संक्रमण हुनसक्छ । शल्यक्रियाको क्रममा अस्पतालमा हुने कमजोरी वा घरमा गरिने लापरबाही दुवैले संक्रमण हुनसक्ने उनको भनाइ छ । साथै सुत्केरीको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यस्तो जोखिम हुन्छ ।
यस्तो संक्रमणले भित्रभित्रै असर गर्छ । पाठेघरमा समस्या ल्याउन सक्छ । ‘संक्रमण भएपछि उपचार खोजिएन भने ज्यानै जान सक्छ’ डा. साह भन्छन् ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार वर्षायाममा त्यसै पनि घाउमा संक्रमण हुने जोखिम हुन्छ । सरसफाइमा पर्याप्त ध्यान दिइएन भने यसबेला संक्रमण हुनसक्छ । ‘नेपाली समाजमा सुत्केरीलाई सरसफाइमा ध्यान दिइँदैन,’ डा. अग्रवाल भन्छिन्, ‘चिसो लाग्छ भनेर नुहाउन दिइँदैन । एकैखालको तेल लगाइन्छ यसले गर्दा पनि संक्रमण हुनसक्छ ।’ सुत्केरीले सरसफाइमा गर्ने हेलचेक्राइँले नै संक्रमण हुनसक्ने उनी बताउँछिन् ।
संक्रमणबाट बच्नका लागि सरसफाइमा पर्याप्त ध्यान दिन उनको सुझाव छ । यसैगरी औषधि नियमित खाने, घाउ ड्रेसिङ गराउने, उच्च प्रोटिनयुक्त खानेकुरा खाने जस्ता बानी अपनाउनुपर्ने डा. अग्रवाल बताउँछिन् ।
किन शल्यक्रिया ?
अहिले शल्यक्रियाबाट बच्चा जन्माउने प्रवृत्ति व्यापक छ । जबकि जटिल अवस्थामा प्रसूति गराउनु परेमा मात्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । ‘आमा वा बच्चाको स्वास्थ्य स्थिति खराब छ भने मात्र शल्यक्रिया गर्ने हो,’ डा. साह भन्छन्, ‘सामान्य अवस्थामा शल्यक्रिया गराइरहनु जरुरी छैन ।’
विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलामध्ये १० प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यता हुने गर्छ । यद्यपि पछिल्लो समय शल्यक्रियाबाट सुत्केरी गराउने दर दिनहुँ बढ्दो छ । प्राकृतिक रुपमै प्रसूति गराउन सकिने अवस्थामा पनि शल्यक्रिया गराइरहेको पाइन्छ ।
प्रसूति पीडा सहन कठिन हुने हुँदा पनि कतिपयले शल्यक्रिया विधि अपनाउने गरेको पाइन्छ । त्यसैगरी अहिले तिथि–मिति हेराएर ‘शुभसाइत’मा बच्चा जन्माउने क्रम पनि बढेको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. साह भन्छन्, ‘आफूलाई सुविधा हुने भएकाले आफ्नो अनुकूल समयमा बच्चा जन्माउन पनि शल्यक्रिया विधि अपनाएको पाइन्छ ।’
यद्यपि निजी अस्पतालले बढी शूल्क असुल्नका लागि पनि शल्यक्रियाको विकल्प दिने गरेको कतिपयको गुनासो छ । उनीहरुका अनुसार सामान्य प्रसूति गराउँदा भन्दा शल्यक्रिया गराउँदा बढी खर्च लाग्छ । त्यसैको प्रलोभनमा निजी अस्पतालले शल्यक्रिया गराउनमा जोड दिने गरेको तर्क गरिन्छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालको भनाइ भने फरक छ । सामान्य विधिबाट शल्यक्रिया गराउँदा जोखिम बढी हुने र त्यसको अपजस चिकित्सकले लिनुपर्ने हुन्छ । ‘त्यसैले आफ्नो तर्फबाट सुरक्षित प्रसूति गराउनका लागि चिकित्सकले शल्यक्रियालाई सहज मान्ने गरेको हो,’ डा. अग्रवाल भन्छिन् ।
गर्भवतीको ज्यान तलमाथि भएमा चिकित्सकलाई दोष दिने, कुट्ने, तोडफोड गर्ने भएकाले सुरक्षित विकल्प खोजिएको उनको भनाइ छ । यद्यपि डा. बालकृष्ण साह भने उनको भनाइमा सहमत छैनन् । ‘प्रसूति चाहे शल्यक्रियाबाट होस् वा सामान्य रुपमा कुन जोखिम बढी वा कम भन्ने नै हुँदैन,’ उनी भन्छन्, ‘शल्यक्रिया रहरमा होइन बाध्यात्मक अवस्थामा गर्ने हो । चिकित्सकले आफ्नो सुरक्षाको लागि गर्ने होइन ।’
प्रकाशित मिति: २०२२-०५-३० , समय : १०:५६:५० , २ वर्ष अगाडि