Salyan Paribesh , ८३८ पटक हेरिएको

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार कार्यभार सम्हालेका छन् ।
विहान राष्ट्रियसभा गृहमा सपथ लिएपछि सुन्धारास्थित महानगर कार्यालयमा पुगेर पदभार सम्हालेका उनले नगर कार्यपालिकाको पहिलो बैठक पनि सोमबार नै राखे । तर पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट ‘बैठक सञ्चालनको प्रक्रिया सिकेर आउनुस्’ भनेको सुन्नु परेको छ ।
सपथ समारोहमा मेयर पत्नी !
मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम विहान ११ बजे राष्ट्रियसभा गृहमा राखेको थियो । दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर मेयर साह पत्नी सविना काफ्लेको साथमा कार्यक्रम स्थलमा पुगे ।
साहले पत्नी सविनालाई पनि मञ्चमा लगे । कार्यक्रम सञ्चालकले पनि उनलाई मञ्चमै आसन ग्रहण गराए । जबकी सपथमा ‘फस्ट लेडी’ लाई सपथ गराउने प्रचलन छैन ।
मेयर साहलाई काठमाडौं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले नेपालीमा सपथ गराए । साहले सुरुमा नेपाली भाषामा सपथ लिए । लगत्तै नेपाल (नेवारी) भाषामा एकतर्फी सपथ पत्र पढे । उपमेयर सुनीता डंगोलले नेपाल भाषामै सपथ लिइन् ।
रेष्टुरेन्टका शौचालय नै सार्वजनिक शौचालय
सोमबार नै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राखे । सुरुमा परिचय, त्यसपछि धन्यवाद प्रस्ताव थियो । त्यसपछि उनले फोहोर मैला व्यवस्थापनको प्रस्ताव राखे । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उनले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको तथा हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताए ।
फोहोरमैलाको व्यवस्थापन नभएसम्म खादा माला नलगाउने र उत्साह नमनाउने आफ्नो बाचा रहेको भन्दै उनले भने, ‘हामी हरेकको टाउकोमा हत्याको जिम्मेवारी परेको छ भनेर बुझ्नुपर्छ ।’
प्रकाशित मिति: २०२२-०५-३० , समय : २०:३३:१२ , १ वर्ष अगाडि