आइतीमाया र एलिना चेपाङलाई न्याय खोइ ?

Salyan Paribesh , ६९४  पटक हेरिएको

घनश्याम खड्कारमेशकुमार पौडेल

चितवन — न्याय के हो ? कसैले सोध्यो भने चितवन राप्तीकी आइतीमाया चेपाङका अधबैंसे आँखा भरिएर आउँछन् । किनभने, आफूले न्याय पाए नपाएको विवेचना गर्न सक्ने विधिशास्त्रीय ज्ञान उनसँग छैन । तर फेरि कहिल्यै उस्तै हुन नसक्ने गरी भत्किएको हुँदाखाँदाको जीवनको लयले दिने नित्य पीडा भने उनीसँग छ ।

सेनाको कुटाइबाट ज्यान गुमाएका राजकुमार चेपाङकी छोरी एलिना हजुरआमा आइतीमायासँग । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

 

नेपालको कानुन र त्यसको प्राविधिक चस्माले हेर्दा उनलाई न्याय परेको देखिन्छ । छोरालाई पिटेर ज्यान लिने सैनिकलाई अदालतले जन्मकैद हुने फैसला गरेको छ । सरकारले १० लाख रुपैयाँ राहत पनि दिएको छ । ‘आमाको मन त सन्तानकै सम्झनाले दुखिराख्दो रै’छ, तैपनि चित्त बुझाउन खोज्छु,’ उनी भन्छिन्, ‘यो नातिनीलाई के भनेर सम्झाऊँ ? सधैं बाबुआमालाई खोज्छे, के जवाफ दिऊँ ?’

आइतीमायालाई पुत्रवियोगले भन्दा बढी पीडा ४३ महिनाकी उनकी नातिनी एलिनाका अबोध प्रश्नहरूले दिन्छन् । ‘छोरालाई सेनाले मार्‍यो, केही महिनापछि बुहारीले अर्को बिहा गरी,’ उनी भन्छिन्, ‘दूध नछुट्दै मेरी नातिनी टुहुरी हुन पुगी ।’

बाबु मारिँदा एलिना २१ महिनाकी थिइन्, जसलाई पितृ वियोगको कुनै बोध हुन पाएन । केही महिनापछि एलिनाकी आमा रिपुमाया प्रजाले काखे छोरी जिम्मा लगाउँदै आइतीसँग अनुमति मागिछन्, ‘मेरो सिंगै जोवन बाँकी छ आमा, विधवा भएर कसरी बसिराख्नु ?’

चितवनकै युवकसँग २१ वर्षकी उनले बिहे गर्ने निधो गरिसकेकी रहिछन् । ‘बुहारीले त्यसो भनेपछि मैले रोक्न सकिनँ, उसको जीवनको निर्णय मैले गरेर हुने कुरा भएन,’ आइतीमाया भन्छिन्, ‘मुटुमा ढुंगा राखेर मैले ऊ गएको हेरिरहें, बालखा नातिनीले हेर्दाहेर्दै बाउआमा गुमाई । छोरा भएको भए यो दिन आउने थिएन ।’

बिहा गरेर गए पनि छोरीलाई कहिलेकाहीँ भेट्न आउने बाचा रिपुमायाले गरेकी रहिछन् । ‘त्यसको केही महिनापछि फोन पनि गरेकी थिई एक पटक, छोरीसँग कुरा गराइदिएको थिएँ,’ आइतीमायाले भनिन्, ‘तर उसको नयाँ लोग्नेले आइन्दा कुरा नगर्नु भनेछ, त्यसपछि त फोन आएको पनि छैन । अब नातिनीले आमाको अनुहारै देख्न पाउन्न होली ।’

हजुरबा विष्णुलाल चेपाङ नातिनीलाई उनका बाआमा नै विदेश गएका छन् भनेर फकाउँछन् । त्यसमा थपथाप गर्दै आइतीमाया नातिनीलाई मनाउन खोज्छिन्, ‘उनीहरू चाँडै नानीलाई भेट्न आउँदै छन् ।’

एलिनाको उमेरका केटाकेटी छरछिमेकमा मन्टेश्वरीमा पढ्न जान थालेका छन् । तर, विष्णुलालले उनलाई भर्ना गरिदिन सकेका छैनन् । ‘भर्नाको अलग्गै पैसा लाग्छ । त्यसमाथि किताब, कापी, झोला, लुगाफाटो किन्न परिगो,’ उनी भन्छन्, ‘महिनावारी पैसा पनि दिनुपर्ने रहेछ, यो सबै त मैले कहाँबाट ल्याउनु ?’ विष्णुलाललाई कहिलेकाहीं मिल्ने ज्याला–मजदुरीबाट प्राप्त पैसाले परिवारको रासनपानी मुस्किलसँग थेग्छ । १२ कक्षा पढ्दै गरेकी छोरीलाई वर्षको १० हजार शुल्क पनि उनले जुटाउन सकेका छैनन् । त्यसमाथि नातिनीलाई पढाउने खर्चको जोहो गर्नुपर्ने भएपछि उनले पाएसम्म मजदुरी खोज्न थालेका छन् ।

सरकारले दिएको १० लाख राहतमध्ये पाँच लाखको ४ धुर ऐलानी जग्गा किनेका छन्, दुई लाख ऋण तिरेरै सकियो । ‘बाँकी तीन लाख नातिनीको नाममा खाता खोलेर राखिदिएको छु, ऊ ठूली भएपछि झिक्न पाउने गरी,’ विष्णुलालले भने, ‘के गर्नु, ऊ बुझ्ने भएपछि केही त दिनैपर्‍यो ।’

दोषीलाई जेल र राहत पाएपछि धेरैले उनलाई भने, ‘लौ है, जे भए पनि न्याय मिल्यो तपाईंहरूलाई ।’ विष्णुलाल दम्पतीलाई पनि बुद्धिले त न्याय पाएँ भन्छ, तर मनले त्यो मान्दैन । ‘त्यो न्यायले मेरी नातिनीलाई के फरक पार्‍यो ?’ आइतीमाया भन्छिन् । राष्ट्रिय मानवअधिकार आयोगले विष्णुलालको परिवारले पाएको यो न्याय नितान्त प्राविधिक भएकाले खास समस्याको सम्बोधन हुन नसकेको जनाएको छ । ‘राज्यकै ज्यादतीबाट राजकुमार चेपाङ मारिए र उनकी नाबालिग छोरी बेसहारा बनिन्,’ आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेल भन्छन्, ‘अब उनको अभिभावक पनि राज्य नै हुनुपर्छ, दोषीलाई जेल हाल्दैमा र केही रकम राहत तिर्दैमा राज्यले न्याय दिएँ भन्न मिल्दैन ।’

न्याय भनेको मानसिक सन्तुष्टि पनि भएकाले चेपाङ परिवारमा परेको दुःखलाई अदालतको फैसला मात्रैले सम्बोधन गर्न नसकेको उनी बताउँछन् । ‘बेसहारा बनेकी बालिकाको जीवनमा कुनै आघात आउन नदिन सरकारले उनलाई बालमनोविद्को परामर्शमा ल्याउनुपर्छ, एसओएसजस्ता संस्थाहरूसँग समन्वय गरेर बालमैत्री वातावरणमा हुर्काउनुपर्छ,’ खरेल भन्छन्, ‘नत्र, बाबुआमा फर्केर आउने आसमा उनी हुर्किन बाध्य भइरहनुपर्दा पछि आघात सिर्जना गर्छ, जसले उनको जीवनलाई बिथोल्छ ।’

के भएको थियो चेपाङ परिवारमा ?

विष्णुलाल र आइतीमायाको जीवनमा ०७७ साउन १ ले कहिल्यै नभरिने घाउ दियो । संक्रान्तिको दिन गाउँका दुई युवती र पाँच युवक चितवन निकुञ्ज छेउको राप्ती खोलामा माछा मार्न र निबुवा तथा घोंगी लिन भनी घरबाट निक्लेका थिए । तिनमा राजकुमार पनि सामेल थिए ।

उनीहरूको घर रहेको राप्ती नगरपालिका–२ पिप्ले मिलनचोकदेखि दक्षिण झन्डै १५ मिनेट हिँडेपछि राप्ती खोलाको ड्याम आउँछ । त्यहींबाट राप्ती तरेर राजकुमारसहित सात जना घोंगी खोज्न निकुञ्ज छिरेका थिए । निकुञ्जभित्रको ज्युँडी खोलामा घोंगी बटुल्दै गर्दा उनीहरूलाई सैनिकले पक्रेर कुटपिट गर्ने, हजार पटक बसउठ गर्न लगाउने र गह्रौं मुढा बोकाउने यातना दिए ।

घर पुगेका राजकुमारले घटनाबारे घरमा कसैलाई भनेनन् । रिपुमायाले सर्ट खोल्दा शरीरमा डाम देखिन् । साउन ४ पछि मुखबाट रगत नै निस्कन थाल्यो । गाउँको मेडिकलमा भएको उपचारले बिसेक नभएपछि भरतपुर पुर्‍याए । अस्पताल लगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरे । बाबु विष्णुलालले कुटपिटमा संलग्नलाई कारबाही गर्न चितवन जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दिए । सोही वर्षको भदौ २५ मा छोरालाई कुटपिट गर्ने हुद्दा चिरणकुमार बुढाको नाम नै किटान गरेर चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी दिए । यसबीचमा विष्णुलाल र आइतीमायाले नेपाल चेपाङ संघको साथसहयोगमा ‘न्याय माग्दै’ आन्दोलन गर्नुपरेको थियो । नागरिक समाज र मानवअधिकारकर्मीको ठूलो दबाब पछि जोहेरी परेको १० दिनमा गत वर्ष असोज ४ मा प्रहरीले बुढालाई समायो । चिरणविरुद्ध चितवन जिल्ला अदालतमा असोज २७ मा मुद्दा दायर भयो ।

राजकुमारको मुद्दामा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले गत वर्ष असार २८ मा फैसला सुनाउँदै हुद्दा बुढालाई नौ महिना कैद र नौ हजार रुपैयाँ जरिवाना तोकेका थिए । पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गराउन पनि फैसलामा उल्लेख थियो । कैद समय भुक्तान (पूरा) भइसकेका कारण हुद्दा चिरण फैसला आएलगत्तै कारागारबाट मुक्त भएका थिए ।

हुद्दा चिरणविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा दायर भएको थियो । तर फैसला हुँदा भवितव्य भनी कम सजाय गरिएको थियो । चितवनका जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले सो फैसलाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा गत वर्ष असोज २६ मा पुनरावेदनका लागि निवेदन दिएको थियो । निवेदनपछि उच्च अदालतले फागुन ८ मा बुढालाई जन्मकैदको सजाय गरेको छ ।

राजकुमारको मृत्युपछि शव नबुझेर परिवार र चेपाङ संघले आन्दोलन गरेको थियो । चितवन जिल्ला प्रशासनमा परिवार, संघसंस्था, निकुञ्ज र सेनाका अधिकारी तथा राप्ती नगरपालिकाका प्रतिनिधिबीच वार्ता भएर कारबाही प्रक्रिया सुरु गर्ने, राहत र सहयोगका उपलब्ध गराउनेबारे सहमति भएको थियो । चितवन निकुञ्जले सात लाख र राप्ती नगरपालिकाले तीन लाख रुपैयाँ राहत दिएका थिए ।

राजकुमारकी छोरीलाई उमेर नपुग्दासम्म भरण पोषण र १२ कक्षासम्म शिक्षाका लागि लोथर मध्यवर्ती उपभोक्ता समितिमार्फत चितवन निकुञ्जले सहयोग गर्ने सहमति पनि भएको थियो । तर, त्यसअनुसारको कुनै काम नभएको विष्णुलालको दुःखेसो छ । राजकुमारको परिवार बस्ने घर मर्मतमा निकुञ्जले सहयोग गर्ने प्रतिबद्धता भएर शवको सद्गद् गरिएको थियो । कच्ची छाप्रोलाई विस्थापन गरी हाल बनाइएको एकतले ब्लक राप्ती नगरपालिकाका निवर्तमान उपप्रमुख इमानसिंह लामाको व्यक्तिगत सहयोगमा मर्मत र रङरोगन गरिएको छ ।

प्रकाशित मिति: २०२२-०६-०१ , समय : ०३:४१:५६ , १० महिना अगाडि