बलात्कारपीडितलाई आफ्नै गाउँ बिरानो

Salyan Paribesh , ३६३  पटक हेरिएको

खोटाङ, दोलखा, धादिङ, बुटवल र अछाम — खोटाङको केपिलासगढी गाउँपालिकाकी १५ वर्षीया किशोरी गत मंसिर १० मा बलात्कृत भइन् । स्थानीय ३० वर्षीय अतीत राईबाट बलात्कृत भएकी उनले वैशाख २ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चा जन्माइन् । ६ महिना नपुग्दै जन्मिएको बच्चाको तत्कालै मृत्यु भयो ।

बलात्कारको आघात र नवजात शिशु मृत्युको दोहोरो पीडा खेपेकी उनी त्यतिबेला झनै विचलित भइन्, जब सामाजिक प्रतिष्ठाका कारण उनलाई गाउँ फर्किन नसक्ने परिस्थिति बन्यो । आरोपित राई प्रहरीको फरार सूचीमा रहेका कारण पनि उनलाई गाउँ फर्किने वातावरण बनेन । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले उनलाई विराटनगरको एक संरक्षण गृहमा राखिएको बताए ।

ऐंसेलुखर्क गाउँपालिकाकी १२ वर्षीया बालिकाको अवस्था पनि उस्तै छ । सात वर्षअघि आमाको मृत्यु भएपछि बाबुको संरक्षणमा हुर्किंदै आएकी उनी बाबुबाटै बारम्बार बलात्कारमा परिन् । घटना सार्वजनिक भएपछि बाबुलाई पक्राउ गरेर जेठ ९ मा पुर्पक्ष थुनामा पठाइएको छ । उनी भने आफ्नो घरमा बस्न नसकेर बडाबाबुको संरक्षणमा छिन् ।

परिवारकै सदस्य वा चिनेजानेकै मान्छेबाट बलात्कारको सिकार भएकाहरू उचित मनोपरामर्शको अभाव त झेलिरहेका छन् नै, आफ्नै घर पनि फर्किन नसक्ने परिस्थितिको सिकार बनिरहेका छन् । २०७६ असार ३१ मा काका पर्नेले बलात्कार गरेपछि केपिलासगढी गाउँपालिकाकी १२ वर्षीया बालिकाको पनि अवस्था गम्भीरै छ । बोल्न नसक्ने उनी बलात्कारको सिकार भएपछि आफन्तको घरमा शरण लिइरहेकी छन् । केपिलासगढीकै १२ वर्षीया अर्की बालिका २०७७ साउन ३ मा स्थानीय १६ वर्षीय युवकबाट बलात्कारको सिकार भइन् । जिल्लामा बाल सुधारगृह नभएकाले उनलाई पनि आफन्तसँगै राख्नुपरेको प्रहरी निरीक्षक चौधरीले बताए ।

खोटाङ जिल्ला अदालतमा मात्रै गत साउनयता मात्र जबर्जस्ती करणीका १३ र जबर्जस्ती करणी उद्योगमा ६ वटा मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीमा ९ र जबर्जस्ती करणी उद्योगमा पाँच जना १८ वर्षमुनिका छन् । पीडितमध्ये एक जना विराटनगरस्थित संरक्षण गृहमा छिन् भने अन्य एक जना बडाबाबुकामा र अन्य आफन्तसँगै छन् ।

यौन हिंसाको सिकार भएका बालबालिकालाई बाल सुधार केन्द्र नभएकाले आफन्तसँगै राख्न बाध्य भएको प्रहरीको भनाइ छ । बलात्कारपछि सामाजिक रूपमा पुनःस्थापना हुन कठिन भएकालाई राख्ने संरक्षण केन्द्रहरूसमेत नभएकाले आफन्तसँगै राख्नुपरेको चौधरी बताउँछन् ।

दोलखाको गौरीशंकर गाउँपालिकामा २०७८ साउनमा १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी भएको घटना ९ महिनापछि थाहा भयो । ग्रामीण क्षेत्रमा कैयन् बालिका बलात्कार सिकार भएका घटना महिनौंपछि मात्रै परिवारले थाहा पाउने गरेका छन् । पीडितप्रति समभाव राख्ने सामाजिक प्रणालीको अभाव र परिवारबाटै हुने अवहेलनाका कारण पीडित भए पनि धेरै बालिकाहरू यस्ता घटनाबारे खुल्न डराइरहेका छन् । किशोरीले दुई महिनाअघि छोरीलाई जन्म दिएपछि मात्रै घटना बाहिरिएको हो । बलात्कारको यो घटनाबारे प्रहरीमा जाहेरीसम्म परेन । छोरी जन्माएपछि किशोरी समाजबाटै अस्वीकृत भइन् । दुईमहिने शिशुसहित उनी अहिले सदरमुकाम चरिकोटमा रहेको संरक्षण गृह स्नेह केन्द्रमा आश्रय लिइरहेकी छन् ।

शारीरिक र मानसिक दुवै रूपमा अशक्त तामाकोसी गाउँपालिकाकी १५ वर्षीया बालिका २०७५ मा बारम्बार बलात्कारमा परेको थाहा भयो । उनले १६ वर्षको उमेरमा मृत शिशुलाई जन्म पनि दिइन् । बोल्न नसक्ने बालिका भएकै कारण यो घटनाबारे पनि प्रहरीमा जाहेरी परेन । मृत शिशु जन्माएर गाउँ फर्केपछि पनि उनी बलात्कारको सिकार भइन् । कलिलै उमेरमा दोस्रोपटक गर्भवती भएकी उनको २०७४ मंसिरमा प्रसव वेदनाकै कारण मृत्यु भयो । उनको मृत्युको कारण खोजी गर्न न कुनै अनुसन्धान भयो न त कुनै सरकारी निकायले तदारुकता देखाए । उनले जन्माएकी शिशु स्नेह केन्द्रमा आश्रित छिन् ।

चरिकोटको टुँडिखेलछेउमा रहेको जस्ताको कटेरोमा साना बालबालिका खेलिरहेका देखिन्छन् तर यो कुनै विद्यालय भने होइन । खेलिरहेका बालबालिकामध्ये कोही अभिभावकसँग छन् भने कोही एक्लै । अभिभावकविहीन ती बालबालिका यौन हिंसाको सिकार बनेपछि परिवार र समाजबाट अस्वीकृत भएका बालबालिका हुन् । केन्द्रमा अहिले १५ बालबालिका र २८ महिला तथा किशोरी छन् । केन्द्रकी अध्यक्ष सिर्जना कार्कीले सानै उमेरमा जबर्जस्ती करणी परेका घटना गाउँघरमै गुपचुप राखेर मिलाउने र सार्वजनिक भएका घटनामा कैयन् बालिकाहरू गाउँघर फर्किन नसक्ने अवस्थामा रहेको बताइन् । ‘गाउँघरमा भएका यस्ता जघन्य अपराध आर्थिक लेनदेनमा मिलाइन्छ,’ उनले भनिन्, ‘परिवारबाट अस्वीकृत भएपछि मात्रै न्यायका लागि आएका यस्ता पीडितलाई हामीले आश्रय दिने गरेका छौं ।’

धादिङकी १९ वर्षीया किशोरी २०७८ असार १३ यता धुनीबेसीको सेफ हाउसमा बस्दै आइरहेकी छन् । २०७७ असार ११ मा उनी पानी लिन पँधेरामा गएका बेला बलात्कारमा परेकी थिइन् । ज्यालादारी गर्दै आएका स्थानीय २६ वर्षीय जनक मिजारले उनीमाथि बलात्कार गरेका थिए । मुख छोपेर बलात्कार गरेपछि जनकले उनलाई धम्क्याउँदै हातमा ५ सय रुपैयाँ थमाएर भनेका थिए, ‘यो कुरा बाहिर नलैजानू ।’

किशोरीले कैयन् दिनसम्म यो कुरा अरूलाई भन्न सकिनन् । रोगले थलिएर एक वर्षअघि आमा बितेपछि उनी थप निराश भइन् । बौद्धिक अपांगता भएकी दिदीलाई पनि आफूमाथि भएको घटना बताउने अवस्था रहेन । केही महिनापछि छिमेकीहरूको शंकामा परिन् किनभने उनको पेट थोरै उक्सिएको थियो ।

मंसिर महिनाकै दोस्रो साता उनका बुबाले दोस्रो बिहे गरे । छरछिमेक, गाउँघरमा कानेखुसी हल्ला चल्न थालेपछि कान्छीआमाले पनि उनलाई यसबारे सोधिन् । घटना थाहा पाएपछि कान्छीआमाले उनलाई नगरपालिकाको न्यायिक समिति संयोजकसमक्ष लगेर घटनाबारे बताइदिइन् । त्यही दिन प्रहरी र नगरपालिकाको जिम्मा लगाएर उनी घर फर्किन् ।

घटना सार्वजनिक भएपछि परिवारको अस्वीकार र गाउँलेको व्यवहारले उनी आहत भइन् । त्यसपछि सेफ हाउसमा बस्न थालिन् । गत वैशाख १९ मा पीडक अदालतबाट छुटिसकेका छन् । न्यायिक प्रक्रियाका बेला आफू मानसिक आघातबाट गुज्रिएको र त्यही मौकामा बकपत्र गराएकै कारण मुद्दा कमजोर भएर पीडक छुटेको उनी बताउँछिन् । सेफ हाउसमै उनले शिशु जन्माइन् । बाबुबिनाको बच्चा भन्दै कुरा काट्ने क्रम सुरु भएपछि उनको घर फर्किने दिन झनै अनिश्चित भयो ।

१४ वर्षीया किशोरीको जस्तै कथा छ, नेत्रावती डबजोङ गाउँपालिकाकी ९ वर्षीया बालिकाको पनि । साढे दुई वर्षको हुँदा आमाले छाडेर हिँडेपछि बाबुसँग बस्दै आएकी उनी बाबुबाटै बलात्कारको सिकार भइन् । बुबाको पिटाइ, पटक–पटक जबर्जस्ती करणीले गल्दै गएकी बालिकाको पीडाबारे भाउजू नाता पर्ने छिमेकीले थाहा पाएपछि घटना सार्वजनिक भयो ।

प्रहरीको सहयोगमा २०७७ जेठ २५ मा उनलाई उद्धार गरी सदरमुकाम धादिङबेंसी ल्याइयो । त्यसैको भोलिपल्ट अर्थात् २६ गते भाउजूको नामबाट जबर्जस्ती करणी र हाडनाता करणीमा जाहेरी दर्ता भयो ।

भाउजूका अनुसार उनी बाबुबाटै लामो समयदेखि यौन हिंसाको सिकारमा परेकी थिइन् । उनले घटनाबारे आफूले थाहा पाएका दिन बालिकाको शरीरैभरि पीडकले कोतरेका घाउ भएको, यौनांग च्यातिएको, अनुहारभरि नीलडाम रहेको र हिँड्न सक्ने अवस्थामा नरहेको बताइन् । घटनापछि बालिका धादिङबेंसीको सेफ हाउसमा बसेर पढ्दै छिन् । गएको दसैंमा घर पुगिन् तर छरछिमेकीले उनीमाथि नै अनेकन शंका र प्रश्न गरे । उनले सुनाइन्, ‘घरमै बस्न मन छ तर छरछिमेकी समाजको डर छ ।’

रुपन्देहीको तिलोत्तमा कोटिहवास्थित अनाथ आश्रममा आश्रित १० वर्षीया बालिका गत वैशाख २८ को घटना सम्झिन पनि चाहन्नन् । त्यो साँझ खाना खाएर सुत्न लागेका बेला उनले आमालाई देखिनन् । खोज्न घरबाहिर निस्केका बेला एक जना स्थानीयले उनलाई जबर्जस्ती तानेर घरभित्र लगे । उनी बोल्न र चिच्याउन खोजेकी थिइन् तर त्यो मान्छेले उनको मुखमा टालो कोचिदियो अनि उनको हातखुट्टा बाँधिदियो । त्यसपछि के भयो उनी बताउन सक्ने अवस्थामा रहिनन् । राति उनी घर फर्किन् तर हालत सही थिएन । भोलिपल्ट खेल्न जाने बेलामा उनको योनिबाट चुहिएको रगत खुट्टासम्म पुगेको थियो । साथीहरूले यसबारे उनकी आमालाई बताइदिए तर उनले अम्बाको रूखबाट लड्दा नजिकै रहेको कोदालोले काटेको बताइन् । परिवारका सदस्यले नजिकैको मेडिकल पुर्‍याए । त्यसले भैरहवास्थित मेडिकल कलेज लैजान सुझायो ।

युनिभर्सल कलेज अफ मेडिकलमा उपचारक्रममा मात्रै उनले घटनाबारे बताइन् । घटनाको जानकारी पाएपछि स्थानीय समाजसेवी, टोल विकास संस्थाले घटनामा संलग्न १४ वर्षीय किशोरलाई बोलाए । किशोर देखेपछि बालिका चिच्याएर रुन र झस्किन थालिन् । घटनाबारे प्रहरीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर मुद्दा चलायो । ज्याला मजदुरीबाट जीविका चलाउँदै आएको परिवारकी बालिकाकी आमा मानसिक रूपमा स्वस्थ छैनन् । बाबु अर्को बिहे गरी अन्यत्रै बस्छन् । देखभालकै समस्या भएपछि उनलाई कदम नेपाल नामक गैरसरकारी संस्थाले आश्रय दियो । घटनापछि बालिकाकी ठूली दिदी पनि सुरक्षित हुन नसक्ने भन्दै स्थानीय अगुवा र पालिकाले दुवै दिदीबहिनीलाई संस्थाको आश्रयमा राख्ने व्यवस्था मिलाए । पीडक एक साता बाल सुधार गृहमा बसेर छुटिसकेकाले पनि पीडित घर फर्किन सकेकी छैनन् । उनकी दिदीले भनिन्, ‘त्यो केटा घर वरपर घुमिरहन्छ ।’

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी ३३ वर्षीया सीता (नाम परिवर्तित) पनि डेढ वर्षअघिको त्यो दिन सम्झिन चाहन्नन् । सात महिनाकी गर्भवती उनी नियमित जाँचका लागि स्वास्थ्यचौकी जाने क्रममा बलात्कारको सिकार भइन् । यो घटना प्रहरी कार्यालयसम्म पुग्यो । पीडक पक्राउ परे । मुद्दा पनि चल्यो तर शक्तिशाली पीडक र अनेकन दबाब–प्रलोभनका कारण उनले बयान फेरिन् । यो मुद्दालाई नजिकबाट नियालिरहेका स्रोतका अनुसार अढाई लाख दिने सर्तमा उनले बयान फेरिन् । पक्राउ परेको व्यक्ति सजिलै छुट्यो ।

तर घटना यतिमै सकिएन । दलित समुदायको किशोरबाट बलात्कृत भएको भन्दै उनले परिवारकै मानिसबाट अपहेलना सामना गर्नुपर्‍यो । किशोरीका एक आफन्तले भने, ‘बलात्कृत भएका महिला–किशोरीलाई हाम्रो समाजले राम्रो तरिकाले कहिल्यै हेर्दैनन् । त्यसमाथि उनलाई बलात्कार गर्ने पुरुष दलित समुदायको थियो ।’ सदरमुकाम मंगलसेनस्थित एक सेफ हाउसमा बसेरै उनले छोरी जन्माइन् । स्रोतका अनुसार गर्भावस्थामै दलित केटाद्वारा बलात्कृत भएकी उनलाई कुलको इज्जत फालेको भन्दै परिवारले घर लैजान मानेन ।

पहिलो श्रीमतीबाट लगातार छोरी जन्मिएको भन्दै श्रीमान्ले उनलाई दोस्रो श्रीमतीका रूपमा घर भित्र्याएका थिए । एक छोरा र एक छोरी जन्माएर तेस्रो सन्तान जन्माउने बेला उनी बलात्कारको सिकार भइन् । किशोरीका एक आफन्तले भने, ‘परिवार र आफन्त कसैको पनि उनलाई हेर्ने नजर राम्रो छैन । सेफ हाउसबाट गाउँमा ल्याउनेबित्तिकै कैलाली पठाइयो । अहिले उनको अवस्था के छ, हामीलाई पनि थाहा छैन ।’ कान्तिपुरको सम्पर्कमा आएको एक स्रोतका अनुसार पीडकबाट हात परेको पैसाले उनलाई कैलालीमा सानो झुपडी बनाएर छोरीसँगै राखिएको छ ।

बलात्कारको सिकार सबै उमेर समूहका महिला हुने गरे पनि पीडित बन्नेमा बालिकाको संख्या उल्लेख्य देखिन्छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रहरीमा दर्ता भएका जबर्जस्ती करणीका कुल १ हजार ६ सय ८८ मुद्दामध्ये १८ वर्षभन्दा मुनिका बालिकाको संख्या मात्रै ६६ प्रतिशत अर्थात् १ हजार १ सय १६ रहेको छ । प्रहरीका अनुसार कुल १ हजार ६ सय ८८ घटनामध्ये छिमेकीबाट भएका जबर्जस्ती करणीका घटना मात्रै ४ सय ५३ छ भने अन्य चिनेजानेका मान्छेबाट भएका घटनाको संख्या ७ सय ९५ छ । त्यस्तै काका, मामा, ठूलोबुबा, दाजु, भाइ र काकाबाट भएका घटनाको संख्या मात्रै १ सय १ छ ।

जबर्जस्ती करणीका घटनामा जस्तै बाल यौन दुरुपयोग र जबर्जस्ती करणी उद्योगका घटनामा पनि १८ वर्षमुनिका धेरै बालिका पीडित देखिन्छन्, त्यो पनि परिवारकै सदस्य, छरछिमेकी, नातेदार र चिनेजानेकैबाट । आर्थिक वर्ष २०७८/७९ मा मात्रै बाल यौन दुरुपयोगका २ सय २ घटना प्रहरीमा दर्ता भएका थिए । जसमा ५९ जना छिमेकीबाट र ८३ जना चिनेजानेकै मान्छेबाट हिंसामा परेका थिए । यही आर्थिक वर्षमा जबर्जस्ती करणी उद्योगका ५ सय १५ घटना प्रहरीमा दर्ता भएका थिए । जसमा छिमेकीबाट २ सय २ र घरभित्रकै मान्छेबाट ३३ वटा घटना भएका थिए । प्रहरीको यो तथ्यांकले घरभित्रै, नातेदार र छरछिमेकी वा चिनेजानेकै मान्छेबाट बाल यौन दुरुपयोग र जबर्जस्ती करणी उद्योगका घटना भएका छन् । बलात्कृत बालिकाको संवेदनशीलतालाई बुझ्ने सामाजिक संरचनाको अभावमा उनीहरू अथाह चोट सहेर हुर्किन विवश रहेको धादिङस्थित सहयात्री समाज नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता राधिका सापकोटाले बताइन् । ‘बलात्कारबाट पीडित अधिकांश नानीहरू विक्षिप्त मानसिकताको सिकार भएर बाँच्न विवश छन्,’ सापकोटाले भनिन्, ‘मनोवैज्ञानिक रूपमा परिपक्व नभएका उनीहरू बलात्कारको चोटभन्दा त्यसपछि आइपर्ने अनेकन अप्ठ्यारासँग जुध्न सकिरहेका देखिनन् ।’

बलात्कृत किशोरीहरूको सामाजिक व्यवस्थापन झनै जटिल बन्ने गरेको छ । घटनापछि घरमा बस्नै नसक्ने अनि उनीहरूको सुरक्षा र जिम्मेवारी लिने निकाय पनि नहुँदा उनीहरूको अवस्था दयनीय हुने गरेको सापकोटाले बताइन् । ‘बलात्कृत बालिका तथा किशोरीको बाँकी जिन्दगी के हुन्छ भनेर कसैले सोच्दैनन्,’ उनले भनिन्, ‘हाम्रो न्याय प्रणाली नै उल्टो छ, पीडकलाई प्रहरी सुरक्षाका साथ रासनपानी र भत्ता उपलब्ध गराएर जेलमा राखिएको हुन्छ, पीडितले हदै पाए डेढ लाखसम्मको क्षतिपूर्ति हो, त्यो रकमले उनीहरूको भविष्य सुरक्षित हुन्छ त ?’

प्रकाशित मिति: २०२२-०६-०२ , समय : ०५:४३:५२ , ८ महिना अगाडि