सल्यानमा बर्खे आलुको सिजन शुरु

Salyan Paribesh , ४३५  पटक हेरिएको

सल्यानमा आलुको बर्खे सिजन शुरु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरुले गएको माघ महिनामा रापेको आलुको खन्ने र बिक्री गर्ने सिजन शुरु भएको हो । बाफुखोलाका केही किसानले आलु खन्न शुरु गरेका छन् भने केही किसानले व्यापारी पर्खिएर बसेका छन् । विगत देखी आलुखेती बाटै बाफुखोलाका एक घरपरिवारले न्यूनतम पचाँस हजार देखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँको वर्षभरिको घरखर्च टार्ने भनेको आलुखेती हो । आलुखेती गरेर नै यहाँका कृषकहरुले जीवनयापन गर्दै आएको स्थानिय चित्र बहादुर वलीले बताउनुभयो । बाफुखोलामा उत्पादित बर्खे आलु बिक्रीका लागी कुनै समस्या छैन् । तर यस बर्ष भने विगतका बर्षहरुको तुलनामा आलुको उत्पादन घट्ने आँकलन गरिएको उहाँको भनाइ छ ।

‘यसबर्षको गर्मीयाममा आलुलाई चाहिने पर्याप्त बर्षात भएन्, सिचाइ गर्न नि समस्या भयो, जसका कारण आलु राम्रोसँग फस्टाउन सकेन, आलुको पातमा लाग्ने हरियो किराले पात सबै खाइदियो, नियन्त्रण गर्न सकिएन, बर्षात हुन थालेपछि किरा हराउदैँ गएको हो’ उहाँले भन्नुभयो ‘जसका कारण यस पटक आलुको उत्पादन घट्ने आँकलन गरिएको छ ।’

स्थानियका अनुसार २०४८ सालबाट बाफुखोलामा आलुखेती शुरु भएको हो । विगत १२ बर्षदेखी आलु खेती गर्दै आएका स्थानिय नन्द बहादुर वलीले गतबर्ष आलु विक्री गरेर करिब चार लाख रुपैँया आम्दानी गर्नुभएको थियो । तर गत बर्षहरुको तुलनामा भने बर्ष आलु उत्पालन घट्ने आँकलन गरेको उहाँको भनाइ छ ।

‘मैले १२ रोपनी जग्गामा आलु खेती गर्दै आएको छु, यहाँको माटो र हावापानी आलुखेतीका लागि उपयुक्त छ, हिउँदमा रोपेको आलु बर्खामा खन्ने हुन्छ, बर्षमा दुइ सिजन बाली लाग्छ, आम्दानीको स्रोत नै आलु हो’ उहाँले भन्नुभयो ‘यस पटक बर्षात कम भयो, सिँचाइ हुन सकेन्, सुख्खा हुदाँ किराको प्रकोप देखियो, त्यसलाई तत्काल नियन्त्रण गर्न सकिएन, यस पटक बिउ आलु पनि राम्रो हुने सम्भावना कम छ ।’

अर्का स्थानिय झुपे कामीले कृषि प्राविधिक नहुँदा यस पटकको बर्खे आलु खेती गर्ने किसानलाइ समस्या भएको बताउनुभयो । ‘किसानलाई रोगकिरा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा जानकारी हुदैन्, फेरी सिँचाइ र मलको पनि अभाव भयो, त्यही कारण यो पटक उत्पादन घट्न सक्छ’ उहाँले भन्नुभयो ‘उत्पादन कम भएपनि बाफुखोलामा उत्पादन भएको आलु बिक्रीमा भने कुनै समस्या हुदैँन् ।’

राप्ती राजमार्गको खरिबोट हँुदै कोटवारा–बाफुखोला र सल्यान–रुकुम सीमाना खौला हँुदै बाफुखोलासम्म सडक निर्माण भएकाले आलु निर्यातमा समस्या नभएको उहाँको भनाई छ । किसानले उत्पादन गरेको बर्खे आलुलाई सहजै रुपमा निर्यात गर्नका लागी सडकको ग्रावेल गरिएको र किसानलाई आलु निकासी गर्न कुनै समस्या नभएको जनाइएको छ ।

कृषि बिकास कार्यालय सल्यानका अनुसार जिल्लाभर २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे र हिउँदे आलु खेती गरिदैँ आएको छ । जसमा किसानहरुले बर्खे आलु ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दै आएका छन् भने हिउँदे आलु १ हजार ८ सय २० हेक्टरमा खेती गर्दै आएका छन् । जिल्लाभर बर्षेनी करिब २४ मेट्रिक टन आलु उत्पालन हुन्छ ।

यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगाएतका शहरमा जाने गर्दछ । बाफुखोलाका ८० प्रतिशत स्थानियले आलु खेती गर्ने गरेको भएपनि आलुको अनुसन्धान केन्द्र र चिस्यान केन्द्र स्थापना नहुदाँ समस्या हुुने गरेको किसानको गुणासो छ ।

प्रकाशित मिति: २०२२-०६-०५ , समय : १६:४२:१२ , ८ महिना अगाडि