Salyan Paribesh , ३८० पटक हेरिएको

काठमाडौं / जेठ, २२ – शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि नेकपा एकीकृत समाजवादीले मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले यसअघिका (स्वास्थ्य राज्यमन्त्री) बाहेक सबैलाई फिर्ता पठाउँदै नयाँ नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री देउवालाई पठाइएको नाममा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा भएका छन् भने स्वास्थ्य राज्यमन्त्रीका रुपमा हिरा केसीले मन्त्रिपरिषदमा प्रवेश पाउने भएका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट विस्थापित भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा गत असोजमा विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको थियो ।
खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
नेता झलनाथ खनालका अनुसार पहिलो चरणमा मन्त्री हुनेहरुको कार्यावधी ६ महिनाको मात्रै थियो ।
अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया र पूर्व निर्धारित विषय भएको प्रतिक्रिया दिएका छन् । ‘यो नियमित प्रक्रिया हो,’ अध्यक्ष नेपालको भनाइ छ, ‘सुरूदेखि नै छ महिनाका लागि भनिएको हो । यो रेगुलर प्रोसेस हो ।’
पार्टी जोगाउन हेरफेर
देउवा सरकारमा सहभागि दलहरुको शक्ति सबैको हारहारीको छैन । तर, मन्त्रिपरिषदमा सहभागिता भने नेपाली कांग्रेसबाहेक दलको उस्तै हैसियतमा भएको छ ।
एकीकृत समाजवादी भन्दा झण्डै दोब्बर ठूलो रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मन्त्रिपरिषदमा पठाएको मन्त्रीको संख्या समान (पाँच) हो ।
आफ्नो पार्टी बन्ने क्रममा रहेकाले त्यसलाई बुझिदिन अध्यक्ष नेपालले आग्रह गरेपछि एकीकृत समाजवादीलाई पनि राम्रै संख्यामा मन्त्री दिइएको थियो ।
प्रकाशित मिति: २०२२-०६-०५ , समय : २१:४५:०८ , १० महिना अगाडि