बिदाइ देऊ आमा,,

Salyan Paribesh , ९६२  पटक हेरिएको

कविताको शीर्षक – बिदाइ देऊ आमा
बिदाइ देऊ आमा
तिम्रा खोबिल्टा परेका गालामा तलाउ नबनाउ,
म डुबानमा पर्न सक्छु ,
बाटोमा अश्रुधारा नछर्काउ ,भेल संगै हराउन सक्छु
बाटो छोड आमा….
मलाई जान देउ …
कतिन्जेल हेर्छ्यौ पुर्पुरोमा हात राखेर ,
छिमेकीको घरमा हात माग्न आउने लस्करहरु
कति चित्त दुखाएर सुनिरहन्छ्यौ ….
म नबिक्नुमा समाजको चासो भित्र गिज्याइएको हाँसो …
बिर्सियौ र आमा ??
पाँच रुपैयाँको उधारो माग्दा
सय वटा गनथन सुनाउने दोकानदारे बाको चटारो..
एक भुटान नुन पैंचो मागेकै भरमा
माग्नेको सन्तान भनेको ….
अझै पनि तिम्रो कम्मर माथी
भोकमरीको रजाइँ रोक्ने दोबट्टा कसिएकै छ ।
तिमिले बोल्न सङ्कोच मानेका ओठहरु बोल्न नसकेपछि ,,
तिम्रो आँखा बोलिरहन्छन् तिम्रो दर्द ….
कुण्ठा परेका तिम्रा रहरहरुमा लगाम लागेका छन् ,
गुमेको सिन्दुर संगै वर्षौं देखि भोग्नुपरेको दासत्व भित्र
फगत जिम्मेवारीको खोल ओढेर
हामीलाई न्यानो पारी आफू कति कठ्याङ्ग्रीन्छ्यौ सिरेटोमा ??
यी सब देख्दा देख्दै भोग्दा भोग्दै म कसरी मौन बसुँ?
थन्क्याइदेउ आमा …..
डोली चढाएर पठाउने सपना केही समयलाइ …
बरु मेरा पलाउन खोजेका पङ्खहरुमा
उडान भर्ने सहास देऊ
आमा …..!
तिमी माथी परेको भार मेरो शिर माथी सार्नु छ ।
छोरालाइ मात्र बुढेसकालको टेकेसो ठान्ने समाजमा
म तिम्रो लौरो बनेर अघि अघि हिड्नु छ
शाहुको घरमा गोठालो बसेकी कान्छी बहिनी
अब चाडैं स्कुल जानेछे ।
घरमा खरको छानो फालेर टिन लगाउँला ,,,
अब पर्दैन आमा मैले फालेका
चप्पल गासेर लाउन, नयाँ किनौलि ,,
च्यात्तिएको चोली तुन्दै गर्दा
सियोमा धागो हाल्न नसकी तिर्मिराने
तिम्रा आखालाइ चस्मा … अनि
तिमिलाइ गुनिउँ चोली ल्याएर आउने छु …
आमा….!
तिम्रो एक मुस्कान भित्र मेरो हिम्मत लुकेको छ
श्रमको फल पाइने त्यो खाडी मुलुकमा
म मेरो पसिना बेचेर ल्याउने छु बहार समृद्धिको ,
अभावको कुहिरो भित्र अल्मलिएकि तिम्री छोरीले
भुल्ने छैन कहिल्यै कर्तव्य …
आमा ….!!
ढुक्क भएर बस ,
म चाँडै फर्केर आउने छु ,,
अब त हाँसेर बिदाइ देउ आमा मलाई ।
कल्पना परीयार ।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : २२:०८:३५ , ८ महिना अगाडि