सुर्माको सौन्दर्य [तस्बिरहरु]

Salyan Paribesh , ३५६  पटक हेरिएको

बझाङ — बझाङको मुख्य पर्यटकीय गन्तव्य सुर्मा सरोवर क्षेत्र घुम्नका लागि वैशाखदेखि असारसम्मको समय उपयुक्त मानिन्छ । अहिले आँखाले हेरी नभ्याउने यहााँका हरिया पाटनहरु रंगीचंगी फूलले ढकमक्क छन् । हरिया मैदानसँगै हिमालको दृष्यावलोनका लागि यतिबेला सुर्माको भ्रमण रोमाञ्चित पार्ने खालको छ । कतै चाँप र चिमालोका फूलहरुले ढकमक्क जंगलहरु, कतै भुइँफूलको रंगीचंगी त कतै झरनाको छङछङ ।

 

समुद्र सतहदेखि ४ हजार ३४३ मिटरको उचाईमा रहेको सुर्मा सरोवर ताल यस यात्राको प्रमुख आकर्षण रहेको छ । ताललाई तीन तिरबाट घेरेका चाँदेशिखर, देलठेला, जलजला, सुनखानी आदी हिमालको दृष्य पनि यहाँ उत्तिकै मनमोहक लाग्ने गर्दछ । यो तालको पानी ३ ठाउँबाट निकासी भएको छ । तालबाट ५ किलोमिटर जति तल पुगेपछि तिनै ठाउँको पानी एकै ठाउँमा मिसिएर सुनिगाढको रुपमा बग्दछ । यस खोलामा सुनखानी रहेको कुरा खानी तथा भूगर्भ विभागको तथ्यांकमा उल्लेख छ ।

तालको पूर्वपट्टीको डाँडाबाट १ किलोमिटर तल झरेपछि एउटा अनौठो ओडार भेटिन्छ । बिरु ओडार भनिने यस ओडारमा एकै पटकमा १ सयभन्दा बढी मान्छे सुत्न मिल्ने, खाना पकाउन मिल्ने छुट्टाछुट्टै ठाउँ रहेका छन् । दार्चुलाको मार्माबाट सुर्मा सरोवरको दर्शन गर्न आएका तीर्थयात्रीहरु यसै ओडारमा बस्ने गरेको स्थानीयहरु बताउँछन् ।

बिरु ओडारबाट केही तल झरेपछि पार्थी पुगिन्छ । १० हजार फिटको उचाइमा ठुल्ठूला मैदान र त्यसमा फुलेका विभिन्न किसिमका फूलको मनमोहक दृष्यले एकपटक टक्क अडिन बाध्य गराउँछ । यसै ठाउँको बयान गर्दै सुर्मा गाविसका दिवंगत लालबहादुर बोहराद्वारा लिखित पुस्तक सुर्मा सेरोफेरोमा भनिएको छ । ‘पाटनमा फुलेका रंगी विरङ्गी फूल, दूधजस्तै सेताम्य झरना लेकाली सल्ला, गुराँस, चिमालो र चाननका लहरै मिलाएर लगाएजस्ता रुखहरुले शोभायमान धानसेरी पार्थीको सुर्मा सरोवर क्षेत्र साँच्चीकै रमणीय र अविष्मरणीय छ । यहाँ पुग्दा संसारका सबै चिज भुलेर कुटी बनाएर सधैभरी त्यही बसिरहुँ जस्तो लाग्दछ,’ हुन पनि दिवंगत बोहराले पुस्तकमा उल्लेख गरेजस्तै विभिन्न मनोहर र अनौठा दृष्यहरुसँग साक्षात्कार गर्न पाइन्छ सुर्मा सरोवर यात्रामा ।

पार्थीको केही मिनेट उत्तरतर्फ हिँडेपछि तातोपानीको मुहान भेटिन्छ । ४ हजार मिटरभन्दा माथी रहेको लुगलुग काप्ने जाडोमा बाफ आउने पानीमा नुहाउन पाउँदाको आनन्द शब्दमा वर्णन गर्न असम्भव छ । तातोपानीको मुहानबाट २ किमि पूर्वतिर एउटा अर्को अनौठो ठाउँ छ । जसलाई धानसेरी जिउलो भनिन्छ । भर्खरै धान रोपको जस्तो देखिने खेतैखेत भएको यस ठाउँमा प्रत्येक खेतमा बराबर गरी सिँचाई पुग्ने कुलो पनि बगिरहेको हुन्छ । यहाँ सुर्मादवीले धानको खेतीपाती गरेकोले धानसेरी भन्ने नाम रहन गएको किंवदन्ती छ ।

किवंदन्तीअनुसार पहिले सुर्मादेवी र दुर्गादेवी दुई जना दिदीबहिनी साविक लेकगाउँ गाविसको थली भन्ने ठाउँमा बस्ने गर्दथे । एकदिन दिदी दुर्गाले सुर्मादवीलाई लसुन पिस्न अह्राउँदा सुर्मादेवीले नमानेपछि दुई दिदीबहिनीको झगडा भएको सुर्मादेवी त्यहाँबाट छुट्टीएर सरोवर क्षेत्रमा आएको विश्वास गरिन्छ । ‘यहाँ पुग्नेहरु खुबै रमाउने गर्छन्,’ सुर्माका नवराज पुजाराले भने, ‘देशका विभिन्न जिल्ला र विदेशबाट पनि यो सिजनमा फाट्टफुट पर्यटकहरु आइरहन्छन्,’ उनले यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधार र प्रचारप्रसार गर्न सके सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने बताए। बझाङ सदरमुकाम चैनपुरबाट २ दिनको पैदल यात्रापछि पुगिने यो क्षेत्रका सबै ठाउँ घुम्न १० देखि १५ दिनसम्म लाग्छ । समय अभाव हुनेले त्यो भन्दा छोटो अवधिमा निश्चित ठाउँ भ्रमण गरेर फर्किन पनि सकिन्छ । चैतदेखि असारसम्म सुर्मा जानेहरुका लागि लक्षित गरेर बाटोका विभिन्न ठाउँमा अस्थायी होटलसमेत हुने भएकाले सुत्न र खानको पनि समस्या हुँदैन । जाने हैन त सुर्मा ?

प्रकाशित मिति: २०२२-०६-१० , समय : १७:३८:१३ , १२ महिना अगाडि