Salyan Paribesh , ४७३ पटक हेरिएको

नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताउनुभयो । उहाँले गोरखापत्रसँग भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ । कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ ।” डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताउनुभयो । सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उहाँले बताउनुभयो ।
९२ लाख मात्रा खोप सञ्चित
देशभरि पर्याप्त मात्रामा खोप उपलब्ध गराउने नीति सरकारले लिएको छ । डा. मिश्राका अनुसार सातै प्रदेश र ७७ वटै जिल्लामा खोपको पहुँच विस्तार गरिएको छ । साथै माघ पहिलो सातादेखि बुस्टर खोप लगाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
डा. मिश्राले भन्नुभयो, “अहिले हामीसँग ९२ लाख डोज खोप बाँकी छ । थप एक करोड १५ लाख खोप ल्याउने प्रक्रिया पूरा भएको छ । खपत हुँदै जान्छ, थप खोप आउँछ । कोभिड प्रकोपविरुद्ध सबै सम्भावनामा सरकारले काम गरिरहेको छ ।”
सातै प्रदेशमा पूर्वाधार
सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ । खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेश १ मा आइसोलेसन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, भेन्टिलेटर १४८, अक्सिजन सिलिन्डर एक हजार १४ थान, अक्सिजन कन्सन्ट्रेटर ६६, अक्सिजन प्लान्ट १७ र ट्याङ्क दुईवटा तयारी अवस्थामा छन् ।
प्रकाशित मिति: २०२२-०१-१३ , समय : १३:०१:४९ , २ वर्ष अगाडि