Salyan Paribesh , ६१८ पटक हेरिएको

सल्यान / असार,७ कपुरकोट गाउँपालिकाको ६ वटै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा गाउँवेशी सूचना केन्द्र सल्यानको सहजिकरणमा सुशासन प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सेवाग्राही नागरिकहरुले कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका सेवाप्रति गुनासो, प्रश्न र सुझावहरु प्रस्तुत गरेका छन् । सेवा सुविधा उपलब्ध गराउँदा भेदभाव गरिएको, प्रभावकारी सेवा प्रदान नगरेको, सुचना प्रवाह व्यवस्थीत नभएको तथा पालिकाभित्रका बजारहरुको व्यवस्थापन गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए ।
यस्तै नागरिकहरुको गुनासा सम्बोधन गर्न तथा सुझावहरु ग्रहण गर्नका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई नभएको, योजना कार्यान्वयन गर्दा विभिन्न समस्या झेल्नुपरेको, महिला, जेष्ठ नागरिक, वालवालिका लगाएत लक्षित वर्गका लागि प्रभावकारी कार्यक्रम सञ्चालन नभएको लगाएतका गुनासो गरेका थिए ।
प्रतयेक वडामा वडा कार्यालय संगै स्वास्थ्य, कृषि, पशु, पूर्वाधार विकासका क्षेत्रमा सञ्चालन भएका कार्यक्रम, प्रदान गरिने सेवा, सुविधाका बारेमा जानकारी गराइएको थियो भने त्यस सम्बन्धमा उठेका प्रश्नहरुमा जवाफदेही वक्ताहरुले प्रष्ट पार्ने कोसिस गरेका थिए ।
जवाफदेही वक्ताको रुपमा रहेका गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले विगतको कमजोरीहरु दोहोरिन नदिएर विकास निर्माण तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्दै सुशासनयुक्त गाउँपालिका निर्माणमा सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले विगतका नकारात्मक क्रियाकलाप र कामलाई हटाउदै अब उपलब्धीमूलक काम गर्ने बताए । उनले अवको पाँच वर्ष किसानको हितको लागि उपयोग गरिने भन्दै नयाँ आर्थिक वर्ष देखि एकिकृत किसान विकास कार्यक्रम लागू गरिने जानकारि गराए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नमुना गाउँपालिका बनाउन आफ्नो तर्फबाट सधै सकारात्मक भुमिका रहने बताइन् । प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले स्तरिय सार्वजनिक सेवाका लागि कर्मचारिहरुलाई दक्ष र थप जिम्मेवार बनाईने बताए । कार्यक्रममा वडाका नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधी, सेवा प्रदायक निकायका कर्मचारीले सेवाग्राही नागरिक स्तरबाट उठेका प्रश्नको जवाफ दिएका थिए ।
गाउँपालिका कार्यालय, वडा कार्यालय तथा पालिका मातहतका विभिन्न कार्यालयबाट सञ्चालित विकास कार्यक्रम, प्रदान गरिने सेवा, सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने तथा नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गरेर जिम्मेवार संस्कार बसाल्ने उद्देश्य अनुरुप सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०६-२१ , समय : २०:१९:०८ , ११ महिना अगाडि