Salyan Paribesh , ६२१ पटक हेरिएको
भौगोलिक रुपमा देशकै ठुलो महानगरका रुपमा रहेको पोखरा महानगरपालिकाको नगरसभा बैठक सुरु भएको छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुँदैछ । महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले सहभागीहरुलाई स्वागत गरेकी छन् । नगरसभाको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली छन् ।
कार्यक्रममा नगर सभा तथा महानगरको नीति तथा कार्यक्रमका सम्बन्धमा अतिथिहरूले शुभकामना दिने क्रम जारी छ । नगरसभामा मेयर आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । आचार्यको सचिवालयका अनुसार निर्वाचन अघि सार्वजनिक घोषणापत्रलाई नै आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएको छ ।
नीति तथा कार्यक्रममा पोखराको पर्यटन, शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिइएको छ । यसका साथै पोखराको पूर्वाधार विकासलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगर सभामा नेकपा एमालेको दलका नेता राधिकाकुमारी शाही, नेपाली काँग्रेसका दलका नेता दिवसमान प्रधानाङ्गले शुभकामना दिएका छन् ।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : १२:२७:०८ , ११ महिना अगाडि