Salyan Paribesh , १५९४ पटक हेरिएको

सल्यान/ असार, ९ – सल्यानको कपुरकोट गाउँपालिकाको ११ औं गाउँसभाले सर्वसम्मत रुपमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।
कपुरकोट गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तरकारी खेती, पशुपंक्षीपालन तथा बागबानीको समग्र विकासका लागि जोड दिएको छ । जसका लागि एकिकृत कृषि विकास कार्यक्रम लागू गर्ने उल्लेख छ । हरेक किसानलाई समूह तथा सहकारीमा आवद्ध गर्ने र कृषीक्षेत्रको उत्पादनको आधारमा अनुदान दिने नीति कपुरकोट गाउँपालिकाको रहेको छ ।
एघारौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विवकाससँगै स्वास्थ्य, शिक्षा, उद्योग, सहकारी, पर्यटन, खानेपानी, सिंचाई, सरसफाई तथा बजार अनुगमनलाई प्राथमिकतामा राखिएको छ । यस्तै युवा तथा खेलकुद,लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन तथा वातावरण व्यवस्थापन, उर्जा, संचार, सूचना प्रविधिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
गाउँपालिकाले अर्गानीक तरकारी खेतीका लागि अनुदान दिने नीति ल्याएको छ भने व्यवसायीक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, कला, संस्कृति संरक्षण गर्न र न्याय, शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्ति संरक्षणका पनि जोड दिइएकोे छ । दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विभिन्न योजना सञ्चालन गरिने उल्लेख छ ।
राय सुझाव संकलन कार्यक्रमबाट आएका सुझाव तथा बौद्धिक वर्ग, गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल, संघ संस्था लगायतबाट प्राप्त रचनात्मक राय सुझाबलाई समेत ध्यानमा राखेर निति कार्यक्रम तयार गरिएको अध्यक्ष पुनले बताए । गाउँसभाको दोश्रो बैठकपछि आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०६-२३ , समय : २२:४३:०० , १ वर्ष अगाडि