Salyan Paribesh , ७२२ पटक हेरिएको

माघ १५, सल्यान ।
२०७६ सालमा सल्यानकाे दार्मा गाउँपालिकाले आफ्नाे पालिकाभित्रकाे जनसंख्या गणना गरेकाे थियाे । त्याे बेला गणना गर्दा पालिकाकाे जनसंख्या २३ हजार ४ सय १८ थियाे ।
त्यसभन्दा अघि २०६८ सालकाे जनगणनाअनुसार दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो । तर अहिले २०७८ मा राष्ट्रिय जनगणनाले गरेकाे प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या १९ हजार ९ सय ९८ भएकाे सार्वजनिक भएकाे छ ।
[smartslider3 slider=”2″]
दुइवर्ष अघि पालिकाले गरेकाे जनसंख्या भन्दा ३ हजार ४ सय २० जना २०७८ मा घटेपछि जनगणनामा त्रृटिपुर्ण भएकाे गाउँपालिकाका अध्यक्ष बताउँछन् । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै अध्यक्ष निम बहादुर केसीले गणकलाई त्रुटिपूर्ण तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसङ्ख्या आउन नसकेको बताएका छन् ।
के भन्छन् सुपरिवेक्षक ?
जिल्ला जनगणना कार्यालय सल्यान अन्तर्गतका सुपरिवेक्षक तथा गणक तालिमका मुख्य प्रशिक्षककाे रुपमा काम गरेका विरेन्द्र प्रकाश डिसीले यसपटककाे जनगणना यथार्थ भएकाे र अन्तिम नजिता आइनसकेकाे बताउँछन् ।
यसपटकको राष्ट्रिय जनगणनाको सैद्धान्तिक आधार नै फरक भएकाेले यस्ताे नतिजा आएकाे उनले बताए । २०६८ को जनगणनाको तथ्यांक वा पालिकाहरु आफैले गरेका गणनाका तथ्यांक र याे पटक (०७८) काे गणनाकाे आधार नै फरक भएकाे उनले बताए ।
“यसअघिका जनगणनामा जो जहाँ बसोबास गरे पनि गणना उनीहरुको मुल थलो वा घरपरिवारले बसोबास गरेको स्थान बाट नै गर्ने गरिन्थ्यो”, उनले भने । “तर यसपटकको जनगणनामा मानिसहरू अक्सर बसोबास जहाँ गर्दछन गणना पनि त्यहि ठाउँबाट मात्रै गर्नुपर्ने सैद्धान्तिक आधारको व्यवहारिक प्रयोग गरिएको छ ।”
अघिल्ला गणनामा दार्माका मान्छे जहाँ बसेपनि दार्माबाटै गणना भएकाेले धेरै संख्या देखिएकाे उनले बताए । तर याे पटक बाहिर बसाेबास गर्ने दार्माका मान्छेकाे दार्माबाटै गणना नभएकाे उनकाे भनाइ छ ।
प्रकाशित मिति: २०२२-०१-२९ , समय : १८:४९:२१ , १ वर्ष अगाडि