Salyan Paribesh , ९६० पटक हेरिएको
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
असारलाई ‘मानो रोपेर मुरी फलाउने’ समय भनिन्छ । कृषि प्रधान राष्ट्र भएकाले खानापछि दही खाने चलन पहिलादेखि कै हो । किसानको सम्मानका लागि राष्ट्रिय धान दिवस अर्थात् असार १५ का दिनमा दही चिउरा खाने प्रचलन आएको धर्म संस्कृतिविद् डा.वासुदेवकृष्ण शास्त्री बताउँछन् ।
रोपाईको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति, शीतलता प्रदान गर्छ । किसान बाहेक अन्य पेसा र व्यवसाय गर्नेले पनि आजको दिन दही चिउरा खाएर मनाउने प्रचलन रहेको छ । दहीमा शुद्ध, पवित्र र औषधिय गुण हुन्छ । दहीले पाचन प्रणालीलाई सन्तुलन बनाउने, शरीरमा भएको टक्सीन सफा गर्ने कार्य गर्छ । वर्षाको समयमा देखा पर्ने विभिन्न किसिमका रोग, जिवाणु, विषाणु लगायत विभिन्न प्रकारका भाइरसको आक्रमणबाट बचाउन रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने भएकाले दही चिउरा खाने प्रचलन रहेको शास्त्री बताउँछन् ।
“असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस पनि प्रदान गर्छ ।”
रोपाईपछि दही चिउरा खाँदा पहिला धर्ती देवीलाई चढाइन्छ,’ उनी भन्छन्, ‘पोहोर साल धान धेरै फलेर चिउरा कुटेरा खाइयो, यो वर्ष पनि धेरै अन्न फलोस भनेर प्रार्थना गर्ने गरिन्छ ।’
यस्तै, दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै आलश्य गराउँदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोश प्रदान गर्छ ।
हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
प्रकाशित मिति: २०२२-०६-२९ , समय : ११:२७:०० , ११ महिना अगाडि