Salyan Paribesh , १२७० पटक हेरिएको

काठमाडौँ — स्थानीय तहमा महिलाको प्रतिनिधित्व अघिल्लो पटकभन्दा यसपालि शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ पालिकामा निर्वाचित ३५ हजार ४५ जनप्रतिनिधिमध्ये महिला १४ हजार ४ सय ४५ जना अर्थात् ४१.०१ प्रशित रहेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २ सय २१ मध्ये ४०.७५ प्रतिशत अर्थात् १४ हजार ३ सय ५१ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा ७ अध्यक्ष र ११ प्रमुख गरी १८ जना महिला पालिकाको नेतृत्वमा चुनिएका थिए । यसपटक महिला अध्यक्ष १३ जना र प्रमुख १२ जना महिला छन् । प्रमुख/अध्यक्षमा महिलाको संख्या बढे पनि उपप्रमुख/उपाध्यक्षमा महिला प्रतिनिधित्व घटेको छ । निर्वाचन आयोगका अघिल्लो निर्वाचनमा २ सय ७६ उप्रमुख र ४ सय २४ जना उपाध्यक्ष महिला निर्वाचित भएका थिए । यसपटक उपप्रमुख २ सय ३२ र उपाध्यक्ष ३ सय ३५ जना मात्रै महिला छन् । स्थानीय तह निर्वाचन ऐनमा राजनीतिक दलहरूले अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखमध्ये एकमा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ । राजनीतिक दलहरूले तालमेल गरेर दुवै पदमा पुरुष उठाउनाले यसपटक उपप्रमुख/उपाध्यक्षमा पहिलेभन्दा कम महिला निर्वाचित भएका हुन् । तालमेल गरेर दलले प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्षमध्ये एकमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने कानुनी प्रावधान छैन ।

स्थानीय तहमा महिला वडाध्यक्षको संख्या बढेको छ । अघिल्लो निर्वाचनबाट छानिएका वडाध्यक्षमध्ये ६१ जना महिला थिए । यसपटक पालिकामा ६९ जना महिला छन् । अघिल्लो निर्वाचनमा महिला सदस्य ६ हजार ७ सय ४२ जना छानिएका छन् । यसपटक ६ हजार ७ सय ३२ जना महिला सदस्य निर्वाचित भइसकेका छन् । १० वटा वडा रहेको बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन हुन बाँकी छ । दलित महिला सदस्यको संख्या भने यसपटक बढेको छ । अघिल्लो निर्वाचनबाट ६ हजार ५ सय ६७ दलित महिला सदस्य छानिएका थिए । यसपटक ६ हजार ६ सय १० जना निर्वाचित भएका छन् । बुढीगंगाको निर्वाचनपछि यो संख्या पनि बढ्नेछ । वडा सदस्य (खुला) मा महिला संख्या न्यून भए पनि पहिलेको तुलनामा उल्लेख्य वृद्धि भएको छ । पहिले महिला वडा सदस्य २ सय ६३ जना रहेकामा यसपटक ४ सय ४२ जना छन् ।
निर्वाचन आयोगका अनुसार यसपालिको निर्वाचनमा १ लाख ४५ हजार १३ जना उम्मेदवार रहेकामा महिला ५५ हजार ६ सय ९९ अर्थात ३८.४ प्रतिशत थिए । ‘दलहरूले महिलालाई प्राथमिकता नदिए पनि मतदाताले धेरै महिलालाई जिताएका छन्,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।
साभार :
प्रकाशित मिति: २०२२-०६-३० , समय : ०९:०४:१९ , १ वर्ष अगाडि