Salyan Paribesh , १३०२ पटक हेरिएको

कविता – उस्तै छैनन् अचेल मेरा शिष्यहरु
कहिले बिसाउँदा पनि मन बुझ्दैनथ्यो कराउँथेँ ।
मैले तिनीहरुको अनुहार फेर्नू थियो
मैले तिनीहरूका आँखा खुलाउनु थियो
त्यो गिलो आकारहीन माटोलाई
अनेक परिष्कृत भाँडाको आकार दिनुथियो ।
त्यहाँ प्रतिष्ठा थियो एउटा मास्टर हुनुमा
श्रद्धा थियो गुरुहरुप्रति
शिष्ट थिए ती शिष्यहरु
अभावै अभावमा हुर्किएर पनि
हिलोमा फुलेका कमल जस्तै
निष्ठा र आदरभावले ओतप्रोत
सिर्जना र उत्कण्ठाका प्रतिमूर्ति ।
तर अहिले
भिन्न छ परिवेश
बदलिएको छ व्यवस्था
फेरिएको छ जमाना
आज उस्तै छैनन् स्कुलका अनुहारहरु
उस्तै छैनन् आज शिष्यहरु पनि
अचेल यिनीहरुले
अभावको खडेरी भोग्नु पर्दैन
गरिबीको तातोपानीमा चोपलिनु पनि पर्दैन
घरको दुखजिलोको समस्यले पनि सताउँदैन ।
चिटिक्क र सानदार पोशाक
सुकिलामुकिला चेहरा
नानाथरीका फेसन
साइजसाइजका बहुरङ्गी केश
गोजीमा किम्मती मोबाइल
वरपर कतै पनि देखिनासाथ
नचिनेझैँ बाटो काट्छन्
कर्म नगरेरै फलको आशा गर्छन्
सिक्ने चाहानाभन्दा पर छन्
सदाचार र शिष्टताभन्दा पनि पर छन्
बाआमाको परिश्रमको पसिनामा मोज गर्दै
अनिश्चित भविष्यको सपना देख्छन् ।
यता भने म
यस्तै अनेकौँ दृश्यको गर्तमा घोत्लिँदै घोत्लिँदै
खोजिरहेछु एउटा गुरु हुनुको अस्तित्व
र मास्टर र गुरु हुनुको भिन्नता ।
लेखक:
अर्जुन कुमार ओली
रुकुम पश्चिम
प्रकाशित मिति: २०२२-०७-१० , समय : १६:४८:४६ , १ वर्ष अगाडि