बाँकेमा एक वर्षमा झण्डै ६ करोडको भन्सार छलीको सामान बरामद

Salyan Paribesh , ४६१  पटक हेरिएको

श्रावण ०४ बाँके।बाँके प्रहरीले एक वर्षको अवधिमा झण्डै रु ६ करोड बराबरका भन्सार छलीको सामान बरामद गरेको छ ।

खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रहरी कार्यालय बाँकले रु ५ करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिए ।

अघिल्लो आर्थिक वर्षमा रु २ करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जनाएको छ । “खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको संख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।

गएको आर्थिक वर्षमा १ हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा प्रहरीले चार किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता संख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा १ हजार १५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

भिडियोमा क्लिक गरि यो पनि हेर्नुस

https://youtu.be/4TDGUbnwx-0

प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने संख्या केही घटेको छ । आर्थिक वर्ष २०७७÷७८ मा १२६ मुद्दा दर्ता भएकामा गत वर्ष ११२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-२० , समय : १४:१८:४२ , १ वर्ष अगाडि