बाँकेमा ६ हजार ८ सय १७ मतदाता थपिए

Salyan Paribesh , ४८९  पटक हेरिएको

श्रावण २९ बाँके । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिएका छन ।

गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार ४ सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार ८ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताईन् ।

उनकाअनुसार, गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा ४ हजार ४ सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।

मतदाताका लागि आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन । धेरैजासोले १६ वर्षमा नागरिकता बनाउने समयमा नै मतदाता नामावलीको फारम भरेका हुन्छन । तर उनीहरुले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् । जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली सङ्कलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए ।

निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताए ।

प्रकाशित मिति: २०२२-०८-१४ , समय : ११:२०:१९ , ६ महिना अगाडि