सल्यान परिबेश डट्कम , १५११ पटक हेरिएको

कविता : मेरो पौरख मेरो गौरव
बिरमान
हरेक बिहान झिसमिसे हुनु अगावै काधमा हलो राखेर
एउटा हातमा फरुवा अनि अर्को हातम चिराक समाइ
आफ्नो पसिना जोतेर सन्तुष्टि उमार्न झर्ने गर्छ बेसी
ऊ वर्षौं देखी एउटै दौरा र सुरुवालमा दिन गुजार्छ
शिरको मयलका छिटाले रङ्गिएको टोपीमा
आफ्नो पसिना र माटोको सुगन्धलाई गौरवशाली ठान्छ
कोर्ने गर्छ माटोमा देशकाे राष्ट्रिय झण्डा
जसलाई अङ्गालेर निदाउने गर्छ हरदिन
र कल्पनाकाे सगरमाथामा लेख्छ आमाकाे नाम ।
बिरमान
मोफसल भन्दा पर एक कुनामा उमार्दै छ सपनाहरू
कयौं पटक खाली खुट्टा पत्थरसँग ठोक्किएर
छरछरती पैतलाबाट रगत पोखिदा
उसले आमालाई सझिएको देख्छ……
झिलिमिली शहरको रमझमको मजा नलिए पनि
वन , पा्खा , भञ्ज्याङ् , चौतारीसँग मितेरी गाँसेको छ
उसले छेउमा टुकी राखेर छोरोलाई देश पढाउँछ
अन्धकारमा कान्छीको प्रेम अङ्गाल्दै
जुनेलीसँग लजाउने गर्छ …… ।
बिरमान
घरका भित्तामा स्याली जम्दा पनि
कहिल्यै सकस मानेन वर्षातसँग
बरू आकाश चम्कँदा मुस्कुराउँदै सपनाकाे तस्वीर लिन्छ
मध्यरातमा जूनकाे उज्यालाेमा रमाउँदै
तारासँग सेल्फी हान्ने रहर गर्छ तर माेबाइल हुँदैन बिरमानसँग
छमछमती नाच्छ चट्याङकै आक्रोशमा पनि
उसको जिब्रोले फाइब स्टार होटेलको खाना चाखेको छैन
बरू बर्षातमा झरीले चुटेका निस्ताे भातका सीता टिप्दै ऊ अघाएको छ
उसलाई कहिलै फुर्सद भएन कसैको गुनासो र चाप्लुसी गर्न
उसलाई कहिलै रहर लागेन
हात भरी रुपैयाँ गनेर ऐस आराम गर्न
ऊ त अनाज गन्दागन्दै नतमस्तक बनेको छ आफ्नै पौरखमा ।
बिरमान
माटोसँग बेहद प्रेम गर्छ …..
ऊ छातीमा देश , पाखुरामा सामर्थ्य
काँधमा जिम्मेवारी बोकेर
बबुरो चेहरा लिई गुमनाम भई बाँचिरहेको
एक कर्मठ देशभक्त हो
ऊ आधुनिकतालाई नकार्छ
र आदिमलाई स्वीकार गर्दै
आफ्नै पौरखमा गौरव गर्दै
सकसपूर्ण जिन्दगी बाँचिरहेकाे देख्दा
लाग्छ याे देशकाे लाैह पुरुष बिरमान हाे ।
✍️कल्पना परियार ।
प्रकाशित मिति: २०२२-०८-१५ , समय : १९:४९:३० , १ वर्ष अगाडि